१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

ओली सरकारको बजेट भाषणः यी हुन् लोकप्रिय कार्यक्रमहरूको सूची



काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिवार अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटले आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विभिन्न क्षेत्रको विरोधका बाबजुद अर्थमन्त्री पौडेलले लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।सरकार पूर्ण रुपमा चुनावी सरकार भएको भन्दै लोकप्रिय बजेट ल्याउन नहुने भन्दै सरकारलाई सुझावहरू गएको थियो ।

के–के छन् लोकप्रिय कार्यक्रम ?
सरकारले बजेटमार्फत एउटा महत्वपूर्ण निर्णय लिएको छ, सांसद विकास कोषको खारेजी । सरकारको यस निर्णयलाई धेरैले स्वागत गरेका छन् । सरकारले विगत वर्षदेखि नै यसको खारेजीको आवाज उठेपनि प्रत्यक्ष निर्वाचित सांसदको दवावका कारण खारेज हुन सकेको थिएन । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई निर्वाचन क्षेत्रमा विकास गर्नको लागि भन्दै वार्षिक ६ करोड रुपैया दिइने गरेको थियो । त्यसको सिको गर्दै प्रदेशका सांसदलाई पनि सोही खालको कार्यक्रम दिन शुरु गरिएको थियो ।

सरकारले पत्रकारलाई इतिहासमै पहिलो पटक निशुल्क उपचारदेखि दुर्घटना बीमा लगायतका कार्यक्रमहरू ल्याएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर भाषणमा भन्दै आएको सामाजिक सुरक्षा भत्ता वृद्धिलाई बजेटले सम्बोधन गरेको छ । चालु आर्थिक बर्षको तुलनामा आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता १ हजारले बृद्धि गर्दै ३ हजार बाट ४ हजार पुर्याइएको छ ।

लोकप्रिय बजेटलाई सघाउ गर्दै सरकारले सबै तहका कर्मचारीहरुको तलव मासिक २ हजारका दरले बृद्धि गरिएको छ ।

यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा दिने व्यवस्था मिलाइएको छ । यद्यपी यसअघि कार्यान्वयनमा ल्याइएको शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिने सुविधा भने कार्यान्वयनमा फितलो देखिएको थियो । विद्यार्थी संगठनहरुलाई खुशी पार्ने गरी सरकारले अहिले यसको निरन्तरता दिएको हो ।

सरकारले बजेटमार्फत स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने व्यवस्था गरेको छ ।

३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम शुरु गरिने सरकारको घोषणा छ । यस्तै चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट विनियोजन गरिएको छ । कोरोना महामारीका बीचमा सरकारले राममन्दिर बनाउनका लागि बजेट विनियोजन गरेको हो । यसलाई धेरैले मतदाता रिझाउने कार्यक्रमका रुपमा लिएका छन् । केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा अयोध्यापुरीमा भगवान रामको मुर्ति स्थापना गरिएको थियो ।

सरकारले आर्थिक पुनरुत्थानका लागि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने व्यवस्था बजेटमा गरेको छ ।

यस्तै लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने व्यवस्था गरिएको छ ।

कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषिजन्य उत्पादन तरकारी, दूध र माछा मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ ।

लोकप्रिय कार्यक्रमकै शिलशिलामा सरकारले विद्यालय तथा कलेज पढ्ने विद्यार्थीहरुलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने घोषणा गरेको छ । यस्तै निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई उपभोक्तालाई शतप्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

बजेटले नेपाल टेलिकमका प्रयोगकर्तालाई २२ प्रतिशत शेयर दिने व्यवस्था समेत गरेको छ ।समग्रमा आर्थिक वर्ष २०७८/७९को बजेट केही महत्वाकांक्षी र लोकप्रिय समेत छन् । चुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले चुनाव मुखी कार्यक्रमलाई महत्वमा राखेको समेत कतिपयले बताएका छन् । चालू आर्थिक वर्षको बजेटको तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब १ खर्ब ७३ अर्ब रुपैयाँ ठुलो आकारको छ ।

सरकारले आगामी आर्थिक वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेका छन्, जुन चुनौतिपूर्ण रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८ आइतबार ००:००  ६ : ४३ बजे