१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, २९६ जनामध्ये कसको मत कता ?



दाङ ।
लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

मतदानका लागि मिलन केन्द्रमा ३ वटा मतदान केन्द्र निर्माण गरिएका छन्। जसमध्ये कोरोना पोजेटिभ जनप्रतिनिधिका लागि ‘ग’ मतदान केन्द्र तोकिएको कुँवरले बताए।मतदान सकिएको एक(डेढ घन्टाभित्रै मत गणना सुरू गर्ने र त्यसको एकाध घन्टाभित्रै मत परिणाम सार्वजनिक हुने सूचना अधिकारी कुँवरले बताए।

पाण्डे र खड्काबीच प्रतिस्पर्धा

अर्घाखाँचीमा माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेको थियो। कारबाहीपछि रिक्त रहेको पदका लागि सोमबार निर्वाचन हुन लागेको हो।

विपक्षी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव(बाबुराम समूह, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले भित्रको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए।

त्यस्तै, माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका खड्कालाई एमालेको समर्थन छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ।

यस्तो छ भोटको अंकगणित

लुम्बिनी प्रदेशमा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन्। निर्वाचन आयोगले आइतबार दिउँसो पाँच बजेतिर मात्रै राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेका चार जना सांसदलाई पनि पुरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले बताए।‘पाँच बजेपछि मात्रै निर्वाचन आयोगले थप चार जना सांसदलाई पुरक मतदाताको रुपमा अधिकार दिएको हुँदा प्रदेश सभामा कुल मतदाता संख्या ८३ पुगेको हो,’ उनले भने।

यो निर्णयसँगै अब आइतबार दिउँसोसम्म जसपा सांसदहरु कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवले पनि मताधिकार पाएका छन्।त्यसअघि भने पार्टीले कारवाही गरेको हुँदा उनीहरुले मतदान गर्न नपाउने भनिएको थियो। त्यसैले प्रदेश सभामा त्यसअघिसम्म कुल मतदाता ७९ जना मात्रै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको थियो।

यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ। ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ। स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष – उपाध्यक्ष गरी २१७ मतदाता छन्। उनीहरुको कुल मतभार ३ हजार ९ सय ६ छ। प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ। ४ जना सांसदले मतदान गर्न पाउँदैनन्। यो उपनिर्वाचनमा प्रदेश सभाका कुल ८७ सांसद रहेपनि कारवाहीमा परेका थप चार जना सांसद मतदानबाट वञ्चित हुने भएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्।

त्यस्तै, दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन्। विपक्षी गठबन्धनका राष्ट्रिय सभाका उम्मेदवार पाण्डेले पनि पदबाट राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेको हुँदा उनी पनि मतदानबाट वञ्चित रहनेछन्।राष्ट्रिय सभामा दुई जना मात्र उम्मेदवार भएकाले ४ बढी मत प्राप्त गर्ने उम्मेदवार पनि निर्वाचित हुन सक्ने छन्।

विपक्षी गठबन्धनको अंकगणित

प्रदेशसभामा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, पछिल्लो निर्णय समेत गरी जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

प्रदेशमा काँग्रेस एक्लैको मतभार ९ सय १२, माओवादी केन्द्रको पनि समान ९ सय १२, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको ९६ र राष्ट्रिय जनमोर्चाका ४८ गरी विपक्षी गठबन्धनसँग कुल १ हजार ९६८ मत छ।

लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन्। त्यसमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ।

स्थानीय तहमा काँग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५ जतप्रतिनिधि छन्। उनीहरू एकजनाको मतभार १८ गणना हुन्छ। विपक्षी गठबन्धनको स्थानीय तहमा १ हजार ९९८ मत छ।

प्रदेश र स्थानीय तह गरी विपक्षी गठबन्धनसँग कुल ३ हजार ९ सय ८४ मत छ। एमाले भित्रको नेपाल समूहले फ्लोर क्रस गर्ने र स्वतन्त्र जनप्रतिनिधिले पनि मत दिने विपक्षी गठबन्धनले आश गरेको छ।

एमालेतिरको योगफल

प्रदेशसभामा एमालेका ३८ सांसद छन्। उनीहरूको १ हजार ८ सय २४ मतभार छ। निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै जसपाको ठाकुर पक्षका चार जना मन्त्रीको मतभार १९० पनि थपिएको छ। योसहित एमालेको प्रदेशसभाको मतभार २ हजार १४ पुग्छ।

त्यस्तै, स्थानीय तहतर्फका २१७ मध्ये एमालेका ९४ नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष छन्। उनीहरूको मतभार १ हजार ६ सय ९२ छ।

लुम्बिनी प्रदेशको स्थानीय तहमा आफ्ना ६ जना जनप्रतिनिधि रहेको राजपा भित्रको ठाकुर पक्षको दाबी छ। उनीहरूको मतभार १०८ हुन्छ। लुम्बिनीमा स्वतन्त्रका ४ जना, राप्रपाका २ जना र नयाँ शक्तिका एकजना जनप्रतिनिधि छन्।

यी सबैको योगफल १२६ हुन्छ। एमाले, जसपा ठाकुर समूह, राप्रपा, स्वतन्त्र, नयाँ शक्ति सबैको स्थानीय तहमा योगफल १ हजार ९२६ हुने गर्छ। प्रदेश सभाको २०१४ र स्थानीय तहको १९२६ समेत गरि कुल योगफल ३ हजार ९ सय ४० पुग्ने गर्छ। यो विपक्षी गठबन्धन भन्दा कम नै हो। जुन बहुमतको लागि प्रयाप्त छैन ।

त्यसमा पनि नेपाल समूहले वागमतीमा जस्तै फ्लोर क्रस गर्ने सम्भावना बलियो छ।एमाले भित्रको नेपाल समूहले विपक्षी गठबन्धलाई सघाए एमालेका उम्मेदवार खड्काको मतभार थप खस्किने छ। त्यसो भएमा नेपाली काँग्रेससहित विपक्षी गठबन्धनका उम्मेदवारलाई विजयी हुन सहज हुने देखिन्छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ६ : १० बजे