१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

घट्दै कोरोना संक्रमण दर, असारदेखि निषेधाज्ञा खुकुलो हुने



काठमाण्डौँ ।

नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको हो । पछिल्लो सातादेखि संक्रमण निरन्तर घटेका कारण अस्पतालमा पनि बिरामीको चाप केही कम भएको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार गत जेठ ९ गतेदेखि संक्रमण दर क्रमशः घट्दै गएको देखिन्छ । जेठ ९ गते १९ हजार ९२६ जनाको परीक्षण गरिएकोमा ७ हजार ९१४ जनमा संक्रमण पुष्टि भयो । अर्थात् ३९७१ प्रतिशत मानिसमा संक्रमण देखियो ।

त्यस्तै जेठ १० गते ३६३० प्रतिशत मानिसमा संक्रमण देखिँदा हिजो शनिबारसम्म आइपुग्दा संक्रमण दर ३०४१ प्रतिशतमा झरेको हो । जेठ ९ गतेअघि संक्रमण दर ४० प्रतिशतभन्दा बढी थियो।विज्ञहरूले संक्रमण दर घटिरहेकाले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लैजान सकिने सुझाएका छन् । भाइरोलोजिष्ट तथा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे भन्छन्,‘संक्रमण घट्दै गए पनि निषेधाज्ञालाई जेठभरि चाहिँ खोल्नु हुँदैन । असारदेखि भने बिस्तारै खुकुलो पार्दै लान सकिन्छ ।’

उनले संक्रमण दर बिस्तारै घट्दै गएकाले अन्य आवश्यक कदम कार्यान्वयन गरी निषेधाज्ञालाई बिस्तारै खुकुलो पार्न सकिने बताए। भाइरोलोजिष्ट पाण्डेका अनुसार निषेधाज्ञाले संक्रमणको चेन ब्रेकु गराउन ठूलो मद्दत पुग्ने भए पनि त्यसका लागि अन्य विधि पनि रहेको जनाए।

लकडाउन गर्ने भनेकै संक्रमणको ‘चेन ब्रेक’ गर्ने हो तर त्यसका लागि अरू पनि उपाय छन्। जस्तै खोपलाई जोड दिनुपर्‍यो, उनले भने, ‘लकडाउन मात्र गरिरहने हो भने मानिस भोकले मर्छन्। अस्ति एकजना मान्छेले मसँग चिउरा खानलाई भन्दै रुँदै बीस रुपैयाँ माग्नुभयो । त्यसैले योबारे पनि सोच्नुपर्छ।’

उनले पछिल्लो समय संक्रमण दर घट्दै गएकाले पनि यसलाई नियन्त्रण गरेर लकडाउन खुकुलो पार्दै लान सकिने जनाए । तर लकडाउन खुकुलो पारे पनि अस्पतालहरूलाई त्यो बेलासम्म सशक्त बनाएर राख्नुपर्ने उनी बताउँछन् । किनभने संक्रमण घटे पनि तत्काल मृत्युदर नघट्ने भएकाले अहिले संक्रमण देखिएका व्यक्तिलाई दुई सातासम्म पनि सिकिस्त बनाउन सक्ने पाण्डेले बताए।

कतिपयले भने परीक्षण नै कम भएकाले पनि संक्रमणमा कमी देखिएको तर्क गरेका छन् । कम परीक्षण भए पनि संक्रमण दर पनि कम हुँदै गएकाले संक्रमण घटेकै मान्नु पर्ने पाण्डे बताउँछन् ।सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि अहिले संक्रमणको दर जसरी घटिरहेको छ अब संक्रमण योभन्दा बढ्ने नदेखिएको बताउँछन् ।

उनले पनि संक्रमण यसरी नै घट्दै गए लकडाउनलाई खुकुलो पार्दै लान सकिने सुझाएका छन् । तर लकडाउनलाई खुकुलो पार्दा सबै ठाउँ एकैपटक नभएर संक्रमणको अवस्था हेरी ठाउँठाउँमा खुकुलो पार्दै लानु पर्ने डा. पुनको जोड छ । उनले अहिले अस्पतालमा पहिले जस्तो चाप नरहेको पनि बताए । कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि स्थानीय प्रशासनहरूले वैशाख दोस्रो सातादेखि विभिन्न जिल्लामा निषेधाज्ञा लगाएका थिए । जुन अहिले पनि जारी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ६ : १६ बजे