७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यस कारण बलियो छ लुम्बिनी उपचुनावमा विपक्षी गठबन्धन



काठमाडौं ।
लुम्बिनी प्रदेशमा आज हुन गइरहेको राष्ट्रिय सभा उपचुनावमा विपक्षी गठबन्धन बलियो रहेको छ । वाग्मती प्रदेशमा भएको राष्ट्रिय सभा चुनावमा एमालेकै माधव-नेपाल समूहका प्रतिनिधिहरुले विपक्षी गठबन्धनका उम्मेदवारलाई मत दिँदा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित हुनुभएको थियो । तर लुम्बिनीमा एमालेका असन्तुष्ट पक्षले मत नदिए पनि सङ्ख्याका हिसाबले विपक्षी गठनबन्धकै जित हुने देखिन्छ ।

लुम्बिनीमा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३३ सय ९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसको १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २१ सय मतभार र माओवादीका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार छ । कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ ।

विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच पालिकाका प्रतिनिधि गरी एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ पालिका तहका प्रतिनिधि गरी चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा छन्  । यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एक जनाको गरी एक सय ४४ मतभार छ ।

राष्ट्रिय राजनीतिमा आफ्नै पार्टीसँग असन्तुष्ट एमालेको खनाल–नेपाल पक्षसँग पनि लुम्बिनीमा उल्लेख्य मतदाता छन् । चुनावमा माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव हुन लागेको हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ ।

विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उहाँ हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ । मतदान आज बिहान नौ बजेदेखि सुरु भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ९ : १२ बजे