१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जसपाको ठाकुर पक्ष छिटै सरकारमा जाने, शक्तिशाली मन्त्रालय पाउदै



काठमाण्डौ ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाको ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने र आफूहरू पनि सरकारमा सहभागी हुने कुरा छलफलमा भएको नेता कर्णले जानकारी दिनुभयो ।

सरकारमा जाने कुरा सके एक दुई दिनभित्रै, नसके यो हप्ताभित्र टुङ्गिने नेता कर्णको भनाइ छ । सरकारमा जाने भएपछि सम्मानजनक स्थानका लागि केही शक्तिशाली मन्त्रालय पाउने गरी कुरा भएको कर्णले जानकारी दिनुभयो ।

अहिले मधेश आन्दोलनका क्रममा जेलमा रहेकाहरूलाई छुटाउने, उनीहरूलाई राहत र क्षतिपूर्ति, संविधान संशोधनलगायतका मुद्दामा आफूहरू धेरै केन्द्रित रहेको कर्णले बताउनुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने सरकारमा जाने तयारी गरेको भन्दै ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ ।

यो पक्ष विपक्षी गठबन्धनसँगै प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको छ । जसपामा ठाकुर पक्षले पनि यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ३ : ५५ बजे