४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कोरोनाको दोस्रो लहरको मारमा कपिलवस्तुः एक महिनामा १ सय ४७ जनाको मृत्यु



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना संक्रमणको दोश्रो लहरमा कपिलवस्तुमा १ सय ४७ जनाको मृत्यु भएको छ । गत वैशाख १७ गतेबाट जेठ १६ को अवधिमा कोरोनाबाट त्यति जनाले ज्यान गुमाएका हुन् । पहिलो र दोश्रो चरण गरी जिल्लामा कुल १ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत बासुदेव पाण्डेयले बताए ।

यस्तै दोश्रो चरणमा २ हजार ९३२ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ७३९ निको भई घर फर्किसकेका छन् । यस्तै १ हजार ३ जना होम आइसोलेसनमा छन् । जिल्लामा अहिले कुल १ हजार ४६ जना सक्रिय संक्रमित छन् । यस्तै सुरूदेखि अहिलेसम्म जिल्लामा कुल छ हजार १५ जना संक्रमित भएका छन् ।

एक साता यता जिल्लामा संक्रमित र मृत्युको दर समेत घटेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डेयले बताए । उनले उत्तरी पालिकाहरु बाणगंगा, बुद्धभूमि, शिवराज र बिजयनगरले एन्टिजेन र पिसिआर परिक्षणको दायरा बढाएपछि दक्षिणी पालिकाले खासै नबढाएकाले अहिले संक्रमणको दर घटेको हुन सक्ने बताए । परीक्षणका लागि स्वास्थ्य कार्यालयसंग पर्याप्त किट रहेको भन्दै उनले परीक्षण, कन्ट्र्याक्ट ट्रेसिङको दायरा बढाउन आग्रह गरे । उनले पालिकाहरु यस विषमया समयमै गम्भीर हुनु पर्ने बताए ।

कपिलवस्तु अस्पतालमा मात्र ६८ जनाको मृत्यु

कोरोनाको दोश्रो चरणमा कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका मध्ये ६९ जनाको मृत्यु भएको छ । दोश्रो चरणमा कुल २ सय २६ जना अस्पतालमा उपचार नर्ग आएको मेसु किशोर बन्जाडेले बताए । त्यस मध्ये १ सय ४० जना सकुशल घर फर्किएको उनले बताए । अहिले अस्पतालमा २५ जना बिरामी उपचार गराईरहेका छन् ।

कपिलवस्तुका लागि ८७ भाईल कोभिसिल्ड खोप

फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो खोप लिन छुटकाहरुका निम्ती कपिलवस्तुमा ८७ भाईल खोप आएको छ । फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो चरणको खोप लिनबाट बंचित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीका लागि मात्र सो खोप आएको हो । सुरक्षा निकाय र पालिकाबाट त्यसका लागि नामावली माग गरिए अनुसार ७ सय बढीको नाम आइसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डेयले बताए । नामावली आएकाहरुलाई यही जेठ १९ र २० गते खोप लगाईने छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय, पिपरा र शिवराज सामुदायिक अस्पतालमा खोप केन्द्र संचालन गरिने छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ८ : ०९ बजे