१४ चैत्र २०७९, मंगलबार | Tue Mar 28 2023

बाँकेमा कोरोनाको संक्रमणदर घट्यो, खाली हुँदै अस्पतालका शय्या



बाँके ।
कोरोना संक्रमणदर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली हुँदै गएका छन्। लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० शय्यामध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार भेरीमा १४१ बिरामीमध्ये ३३ सिकिस्त छन्। कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० शय्यामध्ये ५२ शय्या खाली छन्। ७८ बिरामी भर्ना भएकामा ७० सिकिस्त छन्।

यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल शय्यामध्ये १३ र युनाइटेड अस्पतालका १५ ध्ये १० शय्या खाली छन्। बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

दुई जनाको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना संक्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ। संक्रमित बिरामीको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए।

उनका अनुसार कोहलपुर नगरपालिका-१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८ शनिबार ००:००  ४ : १४ बजे