१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना कहरमा पनि जनमुक्तिको जनसेवा निरन्तर जारी



भैरहवा ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जेठ ३१ गतेसम्मको लागि थपिएको छ । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् ।

निषेधाज्ञाका कारण अस्पताल बाहिर सञ्चालित होटल तथा रेष्टुरेण्ट बन्द छन् । जसले गर्दा बिरामी र बिरामी कुरुवालाई खाना खान समस्या परिरहेको छ भने व्यवसाय, उद्योग, कल–कारखाना बन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर त्यसको प्रत्यक्ष मारमा परेका छन् ।

उनीहरुलाई बिहान सांझको छाक टार्न समस्या परेको छ । यही समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले ‘जनमुक्तिको जनसेवा’ कार्यक्रम अन्तर्गत निशुल्क खाना तथा फलफुल पानी बितरण कार्यक्रम निरन्तर जारी राखेको भैरहवाका संयोजक डिबी थापाले बाताएका छन ।

राष्ट्रिय जनमुक्ति पार्टीले कोरानाभाइरसबाट विरामी भई अस्पताल भर्ना भएका र उनीहरूका परिवारजन (कुरुवा) का लागि आज भैरहवा स्थित भिम हस्पिटलमा निःशुल्क खाना तथा पानी वितरण छ । यसका साथै बाटोमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरु, सडक पेटी तथा पुल मुनी बसेका पीडित ब्यक्तीहरु र भैरहवा बसपार्कमा रहेका मजदुर तथा अलपत्र परेका ब्यक्तीहरुका लागि समेत खाना तथा पानी वितरण गरिएको जनमुक्तिका युवा नेता मोजिब अलिले बताउनु भयो ।

राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना अस्पताल (धागो कारखाना क्षेत्र), तिलोत्तमा स्थित कोभिड आइसोलेसन सेन्टर र भैरहवा स्थित भीम अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामी र कुरुवाहरुका लागि निःशुल्क खाना तथा पानी वितरण गरेको छ। यसका साथै डिउटीमा खटिएका सुरक्षाकर्मीहरु र बुटवल बसपार्क, भैरहवा बसपार्क, हाटबजारमा रहेका मजदुरहरु, सडक तथा पुल मुनी भेटिएका पीडित ब्यक्ती तथा बालबालिकाहरुलाई समेत खाना तथा पानी बितरण गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीले गत शुक्रबारदेखि सुरु भएको अभियान जेष्ठ ३१ सम्म जारी रहने छ । साथै स्थानिय नगर भित्र रहेका मजदूर तथा विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रम पनि रहेको राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका उपाध्यक्ष रेखा प्रसाद चौधरीले जानकारी दिए ।

जनमुक्तिको जनसेवा अभियानमा पार्टीका युवा नेता रोशन अस्लामी मगर, माया सारु, कुसुम पुन, आकाश आले, प्रदीप चौधरी लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  ४ : १३ बजे