१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भूमिश्वर ढकालको गम्भीर आरोपः दृग नारायण र अमर बहादुर पैसामा विक्री भएका हुन् ! (अडिओसहित)



दीपक अनुरागी, कपिलवस्तु ।

नेकपा (एमाले) लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्नो पार्टीका निवर्तमान दुई सांसद माथि गम्भीर आरोप लगाउनुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम समय संवादसंग सोमबार विहान कुराकानी गर्दै एमालेका प्रमुख सचेतक ढकालले दृग नारायण पाण्डेय र अमर बहादुर डांगी पैसामा विक्री भएर पार्टी र मतदाताप्रति गद्दारी गरेको बताउनुभयो ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलको कदम र एमाले पार्टी भित्रको राजनीति खेलले पाण्डेय र डांगीले खासगरी तपाईहरुको कारण सांसद पद त्याग गर्नुभयो नि ! भन्ने प्रश्नमा पार्टी सचेतक ढकालले भन्नुभयो, ‘उहाँहरुले न दल, न मुख्यमन्त्रीको कारणले सांसद पद त्याग्नुभएको हो ।’ कपिलवस्तुका पाण्डेय प्रति टिप्पणी गर्दै उहाँले थप प्रष्ट्याउदै भन्नुभयो, ‘दृग नारायण पाण्डेय हिजो कांग्रेसमा भएको कुरा साचै हो । कांग्रेसबाट टिकट नपाइसकेपछि उहाँ यता आउनुभयो । एमालेबाट टिकट माग्नुभयो र एमालेले सांसदको टिकट दिएर जितायो । पछि उहाँलाई एमालेले प्रदेश सभा भित्रको संसदीय समितिको सभापति बनायो । उहाँले त्यो सुविधा पनि लिनुभयो । अहिले आएर फेरि उहाँ कांग्रेसमा फर्किनुभयो । यस्तो राजनीति चरित्र नभएका अवसरवादीहरुको निम्ती यो ठूलो कुरा होइन होला । तर, इमान्दार राजनीति गर्ने, स्वच्छ राजनीति गर्ने, जनताका भावना अनुसार राजनीति गर्ने मान्छेको निम्ती यो ठूलो विश्वास घात हो । ठूलो धोका हो । त्यही क्षेत्रका जनताहरुले पनि अब दृग नारायणलाई भोलिका दिनमा मत दिन्छन कि दिदैनन्, निर्वाचित गर्छन कि गर्दैनन् भन्ने कुरा एउटा अहम विषय बनेको छ । अहिले पनि त्यहाँका जनताले किन दृग नारायणलाई भोट हालेछौं भन्दै पछुतो मानिरहेका छन् । ’

उहाँले थप्नुभयो, ‘दृगनारायण पाण्डेय पैसा र पदका कारणले विक्री हुनुभयो । अरु कुनै कारणले होइन्, हाम्रो कारणले होइन् ।’

त्यसो भए पैसाको कारण विक्री हुनुभयो सांसद ? यो त गम्भीर आरोप हो नि ? के छ थप प्रमाण ? कि आरोपका लागि मात्र आरोप लगाउँदै हुनुहुन्छ भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उहाँले थप प्रष्टाउँदै प्रतिप्रश्न गर्नुभयो, ‘यो गम्भीर आरोप होइन् । यो घटनाले पुष्टि गरेको छ । दृगनारायण हाम्रो सांसद हुँदा हुँदै, अनि उहाँलाई सभापति बनाइसकेपछि, अहिले हामीलाई जसरी छोडेर राष्ट्रिय सभा सदस्य बन्नुभयो । यो त प्रमाणित भै सकेन र ? मैले तपाईलाई थप प्रमाणित गरिरहनुपर्छ !

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भैसक्नुभएका पाण्डेय कति रकम लिएर विक्री हुनुभएको हो उहाँले त्यो नखुलाए पनि दाङका सांसद अमर बहादुर डांगीले भने आफुहरुसंग डेढ करोडको बार्गेनिङ गरेको आरोप लगाउनुभयो ।

डांगीबारे थप प्रष्टयाउँदै ढकालले भन्नुभयो, ‘डांगीले शंकर पोख्रेलको व्यवहारको कारण, पार्टीको व्यवहारको कारणले सांसद पद त्याग्नुभएको होइन् ! उहाँको छोराले स्वयम हामीसंग बसेर ऋण माग्नुभएको छ । डेढ करोड ऋण दिनुस मैले बाबालाई राजनीनामा गर्न दिदैन् भनेर हामीसंग छोराले भन्नुभएको छ । हामीले पैसाले जनप्रतिनिधि किन्ने कुरा सम्भव छैन भन्यौ । हामीले त्यस्तो राजनीति गर्दैनौं भनेपछि उहाँ चाहीँ उता गएर पैसा लिएर राजनीमा दिनुभएको कुरा साँचो हो, प्रष्टै छ नि ! थप प्रमाण दिनुपर्ने के कारण छ ।

थप अडियोको लागि यहाँ क्लीक गर्नुहोस्

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ८ : २७ बजे