१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अघिल्लो वर्षकै निर्देशिकाअनुसार पढाउन शिक्षा मन्त्रालयको आग्रह



काठमाण्डौ ।

असारलगत्तै नयाँ शैक्षिक सत्र सुरु भएको छ । धेरै विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन थालिसकेका छन् । तर कोरोना महामारी कायम नै रहेकाले गएको वर्षजस्तै यो वर्ष पनि पठनपाठन प्रभावित हुन्छ कि भन्ने धेरैले चिन्ता गरेका छन् । गएको वर्ष ग्रामीण क्षेत्रका धेरै विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित हुनुपरेको थियो । फेरि कोरोनाको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने आंकलन भइरहेको छ । त्यसैले तत्काल भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने सम्भावना देखिँदैन ।

गएको वर्षजस्तै अवस्था रहे यो वर्ष पनि ग्रामिण क्षेत्रका धेरै बालबालिका सिकाइबाट बञ्चित हुने पक्का छ । वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । र अहिलेदेखि नै त्यसको तयारीमा सरकार लाग्नुपर्ने उनीहरुको भनाई छ । बेलैमा सरकारले यसबारे नसोचे गएको वर्षको जस्तै गरी पढाई भद्रगोल हुन सक्ने भन्दै विज्ञ र अभिभावक चिन्तित भएका हुन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा गएको वर्षकै जस्तो वैकल्पिक विधिबाट चल्नुको उपाय नभएको बताउनुहुन्छ । त्यसका लागि अघिल्लो वर्ष नै ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका– २०७७’ जारी गरिसकिएकाले त्यसैमा टेकेर पढाइ गराउनुपर्ने उहाँको भनाइ छ । ‘एउटा विद्यालयमा प्रविधिको पहुँचका आधारमा पाँच किसिमका विद्यार्थी हुन सक्छन् भनेर निर्देशिकामा स्पष्ट भनेको छ । तिनलाई पहिचान गरेर विद्यार्थीलाई अनुकूल उपाय अपनाएर पढाउनु पर्छ । कसलाई, कसरी पढाउने भनेर निर्देशिकाले मार्गनिर्देश गरेको छ’ उहाँले भन्नुभयो ।

निर्देशिकामा रहेको पाँच समूहमध्ये पहिलो नम्बरमा ग्रामिण क्षेत्रका बालबालिकाका लागि के गर्ने भनेर प्रस्ट रुपमा भनिएकाले त्यसैअनुसार बालबालिकालाई पढाउनुपर्ने उहाँले बताउनुभयो । स्रोत, साधनले भ्याए अनुसार र अहिलेको परिवेश अनुसार मन्त्रालयले पालिकाहरुसँग समन्वय गरिरहेको छ र आवश्यक परेमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

शिक्षाविद्हरु भने पोहोरको जस्तो अवस्था आउन नदिन अहिलेदेखि नै तयारी थालिहाल्नुपर्ने बताउँछन् । शिक्षाविद् सन्तोष गौतम सरकारले सुरुदेखि नै शिक्षण सिकाइमा जोड दिनुपर्ने बताउनुहुन्छ । गएको वर्ष धेरैतिरका विद्यार्थी शिक्षण सिकाइबाट टाढिएकाले यस वर्ष बेलैमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ । अघिल्लो शैक्षिकसत्र अलमलमा परे पनि यस वर्ष भने केही सहज भएको उहाँ बताउनुहुन्छ । तर प्रविधि नभएको ठाउँमा पनि प्रविधिको पहुँच बढाएर वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन उहाँको सुझाव छ ।

निर्देशिकामा के छ ?
– सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी त्यसको अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने ।

– केन्द्रबाट स्व–अध्ययन वा सामग्रीको विद्युतीय प्रति तयार गरी वेबसाइडमा राख्ने, प्रदेश र स्थानीय तहले समन्वय गरी त्यस्ता सामग्रि छपाई गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले अभ्यास पुस्तिकाहरु छपाइ गरी वितरण गर्ने ।

प्रदेश, स्थानीय तह वा विद्यालयबाट अभ्यास पुस्तिका वा अन्य शैक्षिक सामग्री विकास तथा छपाई गरी विद्यार्थीलाई सहज रुपमा उपलब्ध गराउने ।

– समुदायमा रहेका वा रहने सिकाई केन्द्र वा विद्यालयहरुमा एक आपसमा भौतिक दुरी कायम गरी बसाई ब्यवस्था मिलाई पाठ्यपुस्तक, स्व अध्ययन सामग्री वा छपाईका सामग्री प्रयोग गरि शिक्षक वा स्वयम्सेवक मार्फत् सिक्ने र सिकाउने व्यवस्था गर्ने ।

– स्थानीय समुदायमा रहेका शिक्षक र शिक्षक नभएको अवस्थामा स्थानीय तह वा विद्यालयबाट तोकेका स्वयम्सेवकबाट विद्यार्थीका लागि सिकाईमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने ब्यवस्था गर्ने ।

– अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहन गर्ने ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  १२ : ०७ बजे