२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लागु औषध न्यूनिकरणको ‘हातेमालो अभियान’मा वडा नं. ११



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ११ ले लागु औषध न्यूनिकरण सचेतना अन्तरगत विद्यालय, समुदाय र प्रहरीसंग ‘हातेमालो अभियान’मा लागेको छ । वडाभित्र लागु औषध प्रयोगकर्ता बढीरहेको र यसले गाउँ समाजमा ठूलो क्षति गर्ने भन्दै वडा नं. ११ ले हातेमालो अभियान मार्फत न्यूनिकरणको थालनी गरेको हो ।

वडा नं. ११ को हथौसामा शुक्रबार र वरवामा शनिबार आयोजना भएको कार्यक्रममा लागु औषध न्यूनिकरण सचेतनाका लागि वडाले विगत बर्ष देखि अभियान थाल्दै आएको वडाध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो ।

समाजमा लागु औषध प्रयोगकर्ता बढीरहेको पाइएकाले यसको न्यूनिकरणका लागि विद्यालय, समुदाय र प्रहरीको साथ सहयोगको अति आवश्यक रहेकोमा वडाध्यक्ष अर्यालले जोड दिनुभयो । वडाले विद्यालयस्तरमा यस बारेमा जनचेतना जगाउदै आएको भन्दै कोभिड १९ को महामारीमा पनि यो विषयलाई महत्वका साथ लिएर कार्यक्रम गरेको बताउनुभयो ।

शुक्रबार हथौसामा भएको कार्यक्रमका सहभागीले लागु औषध प्रयोगकर्ता टोल टोलमा बढीरहेको भन्दै प्रहरीलाई सचेत बन्न आग्रह गरेका थिए । यसमा प्रहरीको बढी निगरानी भए केही हदसम्म न्यूनिकरण हुने भन्दै उनीहरुले वडा कार्यालयले पनि यस विषयमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिदैं इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरिक्षक टुक बहादुर कार्कीले प्रहरी यस विषयमा गम्भीरता पूर्वक नियन्त्रणको प्रयासमा लागेको बताउनुभएको थियो ।

उक्त कार्यक्रममा वडा सदस्य वाजबुल लैन, जग नारायण थारु, सावित्रा विक, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुशील खत्री लगायतले सहभागीले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो ।

शनिबार बरवामा भएको कार्यक्रममा सहजिकरण गर्दै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले लागु औषध प्रयोगकर्ता र विक्रेता कानुनको भागिदार हुने प्रष्ट पार्नुभयो । लागु औषध दुव्र्यसनी ऐन २०३३ अनुसार प्रयोगकर्ता र विक्रेता दुवैलाई सजाए हुने भन्दै उहाँले सचेतना र कानुन बमोजिमको कारबाहीले यसको न्यूनिकरण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लागु औषध न्यूनिकरणमा दुई किसिमबाट गर्न सकिन्छ । लागु औषधबारे सचेतना जगाएर र प्रयोगकर्तालाई कानुन अनुसार कारबाही गरेर ।’

कार्यक्रममा सहभागीले उठाएको प्रश्नको सूर्योदय मावि वरवाका प्रधानाध्यापक जगन्नाथ मरासिनीले पनि जवाफ दिनुभएको थियो । मायादेवी मिडिया ग्रुपको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विषयबस्तुमाथि मायादेवीका अध्यक्ष हरि अधिकारीले प्रकाश पार्नुभएको थियो भने सञ्चालक चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  ५ : ४१ बजे