मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा निषेधाज्ञा थप खुकुलो पार्दै एक हप्ता थपिएको छ । सोमबार जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सार्वजनिक गाडि चल्न पाउने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन् । साथै विहान ९ बजेदेखि साझ ६ बजेसम्म मात्र सवारी चलाउन पाइने छ । सवारी चालक र सह चालकलाई अनिवार्य माक्स लगाउनुपर्ने नियम बनाएको प्रशासनले माक्स नलगाउने यात्रुलाई कारबाही गर्ने चेतावनी जारी गरेको छ ।
विवाह, ब्रतबन्ध, पास्नी, न्वारन वा अन्य संस्कारका लागि बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पलना गर्ने गरी नजिकको प्रहरी इकाईसंग समन्वय गरी आफ्नै निवासमा गर्न सकिने प्रशासनले जनाएको छ ।
त्यस्तै विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ भने होटल व्यवसायीले अझै पनि निर्वाध रुपमा व्यवसायिक गतिवधि गर्न पाउने छैनन् । होटल तथा रेष्टुरेन्ट व्यवासायीलाई विहान ९ बजेदेखि साझ ६ बजेसम्म टेक अवे र होम डेलिभरी सेवा मात्र उपलब्ध गराउन आदेश दिइएको छ ।
कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । कपिलवस्तुमा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।
प्रतिक्रिया