३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

लकडाउन खुकुलोः झण्डै २ महिना पछि कपिलवस्तुमा चले सार्वजनिक सवारी



दीपा महत, वाणगंगा ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट भुसको आगो झै फैलिएपछि गएको बैशाख २१ गते देखि कपिलवस्तुमा लकडाउन जारी भएपनि असार १५ देखि केही खुकुलो बनेको छ । सोमबार राति १२ बजेदेखि लकडाउनमा जारी नियमलाई खुकुलो बनाउँदै सार्वजनिक सवारी सञ्चालनको अनुमति दिएपछि लकडाउन खुकुलो बनेको हो ।

लकडाउन खुकुलो भएसंगै मंगलबार विहानै देखि पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा जिल्ला भित्रका सहायक सडकमा सार्वजनिक सवारी देखिन थालेका छन् । जिल्लामा चन्द्रौटा–कृष्णनगर, चारनम्बर–तौलिहवा, बहादुरगञ्ज–तौलिहवा, बुड्ढी–तौलिहवा, चन्द्रौटा–भटेनी चारनम्बर, कृष्णनगर–शिवगढी लगायतका स्थानमा सार्वजनिक सवारी बढी चल्ने गरेका छन् ।

साथै पछिल्लो समय जिल्लामा ई–रिक्सा पनि बाक्लै चल्ने गरेका छन् । सोमबार जिल्ला स्तरीय कोभिड १९ संक्रमण नियन्त्रण समितिले सिट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी सार्वजनिक सवारी सञ्चालनको अनुमति दिएसंगै झण्डै दुई महिना पछि सार्वजनिक सवारी चल्न थालेका हुन् ।

जिल्ला प्रशासन कपिलवस्तुले जारी गरेको सार्वजनिक सूचना अनुसार सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन् । साथै विहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी चलाउन पाइने छ । सवारी चालक र सह चालकलाई अनिवार्य माक्स लगाउनुपर्ने नियम बनाएको प्रशासनले माक्स नलगाउने यात्रुलाई कारबाही गर्ने चेतावनी जारी गरेको छ ।

यता सार्वजनिक सवारी सञ्चालनको अनुमति दिए पनि विद्यालय, टियुसन सेन्टर, गोष्ठि, सेमिनार, फिल्म हल लगायत बन्द छन् ।

त्यस्तै विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाईने भएपनि होटल व्यवसायीले अझै पनि निर्वाध रुपमा व्यवसायिक गतिवधि गर्न पाउने छैनन् । होटल तथा रेष्टुरेन्ट व्यवासायीलाई विहान ९ बजेदेखि साँझ ६ बजेसम्म टेक अवे र होम डेलिभरी सेवा मात्र उपलब्ध गराउन आदेश दिइएको छ ।

विवाह, ब्रतबन्ध, पास्नी, न्वारन वा अन्य संस्कारका लागि बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पलना गर्ने गरी नजिकको प्रहरी इकाईसंग समन्वय गरी आफ्नै निवासमा गर्न सकिनेछ ।

कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ८ : ३४ बजे