११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

अध्यक्ष भुसालद्धारा पदभार ग्रहण, सासु–ससुराको नाममा गरे यस्तो घोषणा



मायादेवी अनलाइन, चारनम्बर ।

लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२१ । २२ का अध्यक्ष लायन धातानन्द भुसालले पदभार ग्रहण गर्नु भएको छ । बाणगंगा-२ पिपराको जनता नमुना माध्यमिक विद्यालयमा मंगलबार भएको चौथो पद हस्तान्तरण कार्यक्रममार्फत् भुसालले पदभार ग्रहण गर्नुभएको हो । बर्ष २०२० । २१ का अध्यक्ष लायन्स सुरेन्द्र घिमिरेले भुसाललाई लायन्स माला घाँटीमा भिराइदिएर पद सुम्पनु भएको थियो ।

पदभार ग्रहण गरेसंगै भुसालले लायन्स कपिलवस्तुको आफ्नो नेतृत्वको अवधिमा केही महत्वकांक्षी योजनासहित काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कोरोना महामारीको यस विषम परिस्थितिको मध्यनजर गरी विपद्को क्षेत्रमा काम गर्ने, स्वास्थ्यका क्षेत्रमा वृहत ढंगबाट काम गर्ने बताउँदै छाला, आँखा, कानका समस्यालाई मध्यनजर गरी शिविर संचालन गरिने बताउनु भयो । यसैगरी भुसालले क्लवको लागि जग्गा ब्यवस्थापन गरी भवन निर्माण प्रकृया अगाडी बढाउने पनि आफ्नो योजना रहेको सुनाउनु भयो ।

सोही अवसरमै अध्यक्ष भुसालले आफ्नो सासु-ससुराको नाममा ‘खेम सावित्रा सम्मान लायन्स अक्षयकोष छात्रवृत्ति’ को स्थापना भएको घोषणा गर्नु भएको छ । ‘परिवारको खुसी नै आफ्नो खुसी’ भएको जनाउँदै उहाँले आफ्नी श्रीमती भगवती भुसालको चाहना अनुसार अक्षयकोषको स्थापना गरिएको कार्यक्रममा बताउनु् भयो ।

सो अक्षयकोषको राशी एक लाख एघार हजार एक सय एघार रहेको छ । यसबाट बाणगंगामा अध्ययन गर्ने अति निम्न र विपन्न परिवारका जेहेन्दार, अनुशाषित र मिहिनेती छात्राछात्रलाई छात्रवृत्ति दिइने योजना छ । भुसालले गत बर्ष पनि आफ्नो आमा-बुबाको नाममा सोही रकम बराबरको अक्षयकोषको स्थापना गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा काम गर्नको लागि बिभिन्न समिति र उपसमिति बनाएर लायनकर्मीहरुलाई जिम्मा समेत दिनुभयो ।

पदभार ग्रहणपछि कार्यक्रममा बोल्ने वक्ताहरुले भुसालको सफल कार्यकालको कामना गर्दै निवर्तमान अध्यक्ष हुनु भएका सुरेन्द्र घिमिरेको मुक्तकण्ठले प्रसंसा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि लायन्सका सेकेण्ड भिडिजि नवराज न्यौपानेले अध्यक्ष भूसाल उर्जाशिल र गरेका प्रतिवद्धता पुरा गर्ने खालको पात्रको रुपमा आफूले पाएको बताउँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

भुसालका प्रतिवद्धता र भाषणले काममा कटिवद्ध, भनेको कार्य पुरा गर्ने पाका ब्यक्तिको रुपमा आफूले लिएको भन्दै कपिलवस्तुले फेरि पनि देशकै उत्कृष्ट क्लवको अवार्ड प्राप्त गर्ने विश्वास ब्यक्त गर्नभयो । आफू क्लवमा होमिएपछि पाएका सफलता र संघर्षका कुरा पनि सुनाउँदै क्लवमा पद बढुवा घटुवामा रुपन्देहीमा भएका राम्रा अभ्यासको बारेमा पनि उहाँले प्रकाश पार्नु भएको थियो । न्यौँपानेले लायन्स क्लव आफैमा ठुलो अन्र्तराष्ट्रिय संस्था भएकाले यसमा लाग्नेहरुले धेरै लाभ लिन सक्ने बताउनु भयो । निवर्तमान अध्यक्ष घिमिरेले निकै राम्रो काम गरेको भन्दै न्यौँपानेले मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

लायन्स क्लवका ४ नम्बर एरिया चिफ विशिष्ट अतिथि सन्दिप कशौधनले भुसाललाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । लायन्स सुरेन्द्र घिमिरेले आफ्नो कार्यकालमा थुप्रै काम गरेर इतिहास बनाएको हुनाले अर्को इतिहास कायम गर्ने घडीमा भुसाल दौडनु पर्ने उहाँको भनाई छ ।

आफुुलाई लायन्सको ठुलो पदको जिम्मेवारीमा लैजान कपिलवस्तुका साथीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले सबैलाई धन्यबाद दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा आफूलाई सहयोग गर्ने सबैलाई सुरेन्द्र घिमिरेले मायाको चिनो प्रदान गर्दै धन्यबाद दिनुभयो । घिमिरेलाई वर्तमान अध्यक्ष भुसालले प्रमुख सल्लाहकारको रुपमा चयन गर्नु भएको छ ।

संस्थापक अध्यक्ष कृष्ण केसी, जोन चेयर पर्सन सुरेन्द्र घिमिरे, लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य नारायण प्रसाद भुसाल, लायन्स क्लव अफ दिदीबहिनी कपिलवस्तुका अध्यक्ष लक्ष्मी गैरे, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, हर्टविट एफ.एम. का बरिष्ठ उपाध्यक्ष तुलसी प्रसाद अर्याल लगायतले शुभकामना दिनुभएको थियो ।

निवर्तमान सचिव रामसुभागे थारु र वर्तमान सचिव सागर घिमिरेको संचालन र लायन मोहन अर्यालको संयोजकत्वमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको बार्षिक र लेखा प्रतिवेदन समेत प्रस्तुत भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष घिमिरेको प्रगति र काम समेटिएको भिडियो सामाग्री प्रस्तुत गरिएको थियो । लायन्स क्लव अफ कपिलवस्तुमा अहिले बभिन्न पेशा र ब्यवसाय गर्ने ३८ जना सदस्य छन् ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  १ : ३९ बजे