१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तोकिएको भन्दा बढी भाडा लिने कपिलवस्तुका घिमिरे सहित आठ जना काठमाण्डौबाट पक्राउ



काठमाण्डौ ।

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको समयमा यात्रुहरू ठगिन सक्ने हुँदा सम्भावित काउन्टरहरूमा निगरानी गर्ने, यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

यसैबीच काठमाण्डौ उपत्यका बाहिरिने यात्रुहरूसँग भाडा लिइ यात्रु ओसारपसार गर्ने ४७ वटा निजी नम्बर प्लेटका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । निजी नम्बर प्लेटका गाडीहरूले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ । निजी कार, जीप, भ्यान लगायतका गाडीले भाडाका यात्रु बोक्न नपाइने भए पनि चर्को शुल्कमा यात्रु बोकेको गुनासो आएपछि प्रहरीले जाँचमा कडाइ गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ३ : ४० बजे