४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घोराई नालामा बन्यो मोटरेवल पुल, बुद्धभूमि र सदरमुकाम तौलिहवाको दुरी छोटियो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामै महत्वपूर्ण मानिएको घोराई नालामा मोटरेवल पुलको उद्घाटन गरिएको छ । नगरभित्र गौरवको योजनाको रुपमा रहेको वडा नं. ५ र वडा नं. १० को बीचमा पर्ने घोराई नालामा मोटरेवल पुलको निर्माण सम्पन्न भएर विहीबार उद्घाटन गरिएको हो ।

बहुबर्षिय योजनाको रुपमा रहेको पुलको काम ठेकेदारले समय अगावै सम्पन्न गरेको हो । ३ करोड ३३ लाख ६२ हजार लागतमा सम्पन्न भएको पुल निर्माणको जिम्मा अर्घाखाँची जेभिले पाएको थियो । पुलको लम्बाई २०.५ मिटर रहेको छ भने चौडाई ७.२० मिटर रहेको छ । यो पुलको नगरपालिकाले आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको हो ।

पुलको शिलान्यास गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले पालिकाको बहुबर्षिय योजना अन्तरगत रहेको पुलको काम समयमा नै सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । पुल नहुँदा वडा नं. १० का बासिन्दा नगरपालिकामा आउजाउ गर्न सास्ती खेप्दै आएको बताउँदै अब त्यो समस्या सदाको लागि अन्त्य भएको बताउनुभयो ।

साथै पुल निर्माणसंगै नगरबासी अब सदरमुकामसंग सजिलै जोडिन सक्ने बताउनुभयो । सदरमुकाम तौलिहवा जानका लागि घुमाउरो बाटो अपनाउनुपर्ने भएपनि अब त्यसको अन्त्य भएको उहाँले जनाउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलका अनुसार पनि पुल निर्माणसंगै बुद्धभूमि र सदरमुकाम तौलिहवा बीचको दुरी छोटिएको छ । नगरभित्र उत्पादित कृषि उपज र अन्य व्यवसायिक गतिविधिलाई बजारीकरणमा पुल निर्माणले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगरको वडा नं. १० धनकौली जिल्लाकै एकमात्र तरकारीको पकेट क्षेत्र हो । पुल नहुँदा किसानका उत्पादित बस्तु निर्यात गर्न समस्या हुँदै आएको थियो । अब त्यो समस्या हटेको नगरको विश्वास छ ।

पुल निर्माणसंगै विद्यार्थीले पाउने सास्ति पनि हटेको छ । गाठे पुल मार्फत जोखिम पूर्ण यात्रा गर्न बाध्य विद्यार्थी अब मोटरेवल पुल मार्फत आवतजावत गर्न सक्नेछन् । ‘यस अघि पुल नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए नगर उप प्रमुख मिरा थारुले भन्नुभयो, अब त्यो समस्या सदाका लागि अन्त्य भएको छ ।’

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ८ : ३६ बजे