७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

१ बजे राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं ।
राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

आठौं अधिवेशनको दोस्रो बैठक नयाँ बानेश्वरस्थित संसद् भवन दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७–०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो। सो बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस भएका थिए। बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए।

गत शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिन दुई दिनको अल्टिमेटम दिएका छन्। सो अल्टिमेटम भोलि सकिँदै छ। हस्ताक्षर फिर्ता नलिए एमाले सग्लो नरहने अध्यक्ष ओलीले बताउँदै आएका छन्।

एमालेको माधव नेपाल समूह भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडानमा रहेको छ।

प्रकाशित मिति : २० असार २०७८ आइतबार ००:००  ११ : ४६ बजे