१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मुद्दा फछ्र्यौटमा लुम्बिनी प्रदेशकै पहिलो बन्यो अर्घाखाँची जिल्ला अदालत



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्ला अदालत अर्घाखाँची कामको तुलनामा लुम्बिनी प्रदेशकै पहिलो अदालत बनेको छ । मुद्दा फछ्र्यौट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको हो । आव ०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरी लुम्बिनी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।

आव ०७६÷०७७ मा बाँकी रहेका १ सय ४९ थान मुद्दा र गएको आर्थिक वर्ष ०७७/०७८ का २ सय ८० थान मुद्दा गरी ४ सय ३० थान मुद्दा मध्ये ३ सय ५ थान मुद्दा फछ्र्यौट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए ।

जिल्ला अदालतमा १ सय २५ थान मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका छन् । अदालतले गएको आर्थिक वर्षमा तीन सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा तीन सय पाँच थान अर्थात् लक्ष्यको तुलनामा १०१ दशमलव ६६ प्रतिशत फछ्र्यौट गरेको जिल्ला अदालत अर्घाखाँचीले जनाएको छ ।

जिल्ला अदालत अर्घाखाँचीमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा छन् । गएको आवका ५२ र यस वर्ष नयाँ दर्ता भएका १ सय २३ गरी जम्मा १ सय ७५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । एक वर्षमा १ सय ४२ थान सम्बन्ध बिच्छेदका मुद्दा फछ्र्यौट भई ३३ थान मुद्दा बाँकी रहेका छन् । अदालतमा रहेका सम्पूर्ण मुद्दाको तुलनामा झन्डै ४१ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेका छन् ।

अघिल्लो तीन आर्थिक वर्षको मुद्दाको स्थितिलाई तुलना गरी हेर्दा यस आवमा सबैभन्दा बढी मुद्दा परेको र फछ्र्यौट पनि बढी नै भएका छन् । ०७५/०७६ मा तीन सय ८८ थान मुद्दामध्ये दुई सय ६१ थान फछ्र्यौट भइ एक सय २७ थान बाँकी रहेका थिए । त्यस्तै ०७६/०७७ मा तीन सय ४३ थान मुद्दामध्ये एक सय ९४ थान फछ्र्यौट भइ एक सय ४९ थान बाँकी रहेका थिए । आव २०७७÷०७८ मा ४ सय ३० थान मुद्दामध्ये ३ सय ५ थान मुद्दा फछ्र्यौट भई अब १ सय २५ थान बाँकी रहेका छन् ।

अर्घाखाँची पछि लुम्बिनी प्रदेशको प्युठान जिल्ला अदालतले ७० दशमलव ३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ६ : २४ बजे