१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा ७० हजारले खोप लगाए, ज्येष्ठ नागरिकको दोश्रो डोज आउँदै



मायादेवी अनलाइन, चारनम्बर ।

६ लाख जनसंख्या भएको कपिलवस्तुमा ७० हजार बढीले कोरोना खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले अहिलेसम्म सबै प्रकारका खोप गरी ७० हजार बढीले खोप लगाएको जनाएको छ । सामुदायिक रेडियो मायादेवीको दैनिक कार्यक्रम समय संवादसंग आइतबार विहान कुरा कानी गर्दै का कोरोना फोकल पर्सन उमेश घिमिरेले अहिलेसम्म सबैभन्दा बढी चाइनाबाट आएको भेरोसेल खोप लगाइएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार जिल्लामा ९ हजार पाँच सयले भेरोसेलको डवल र ३३ हजार ७ सय ६० जनाले सिंगल डोज लगाएका छन् भने कोभिशिल्डको दोश्रो डोज १० हजारले लगाएका छन् । तर जिल्लाका ३५ हजार जनाले कोभि शिल्डको दोश्रो डोज नपाएको घिमिरे जानकारी दिनुभयो । अहिले वैदेशिक रोजगारीमा जानेहरुलाई तौलिहवा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको उहाँले बताउनु भयो ।

गत फागुन २३ गते कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकले अब एक हप्तासम्ममा दोश्रो डोज खोप लगाउने सम्भावना रहेको घिमिरेले बताउनु भयो । भारतबाट आएको कोभि शिल्ड सुरुमा ज्येष्ठ नागरिकले लगाए पनि लामो समय लगाउन नपाउँदा खोपको विश्वसनियतामै प्रश्न उठ्न थालेको छ ।

‘ज्येष्ठ नागरिक पनि अब समय घर्किसकेको खोप लगाएर के गर्ने भन्ने अन्यौलमा छन् घिमिरेले भन्नुभयो ‘पिर मान्नु पर्दैन कोभि शिल्ड लगाएकाहरुले अब एक हप्तासम्म कोभ्याक्स सुविधामार्फत् जापान सरकारले पठाउने भनेको खोप लगाउन पाउनु हुन्छ । यसले राम्रो काम गर्दछ ।

मिति तोकियो भने आएर ढुक्कसंग लगाउनू ।’उहाँले अरु नागरिकको लागि पनि खोप आउने भन्दै ढुक्क हुन आग्रह गर्नुभयो । पछिल्लो समय जाँच नभए पनि दैनिक ५। ६ जनामा संक्रमण देखिएको रिपोर्ट जिल्लामा आएकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ९ : ०१ बजे