४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लुम्बिनी प्रदेशका न्यौपाने र पन्थी पनि अदालतमा, एमाले नभई पक्का माओवादी बनाउन माग



मायादेवी अनलाइन, चारनम्बर ।
रातरात आफ्नो राजनीति कित्ता परिवर्तन गर्ने होड नेताहरु बीच चलिरहेका बेला बुधबार फेरि अर्को राजनीति ट्वीस्ट देखा परेको छ । तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट चुनाव लडेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित कतिपय सांसदले एकाएक पार्टी परित्याग गरी नेकपा (एमाले) रोजे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अदालती निर्णयसंगै पूर्ववत पार्टीमा फर्काइ दिएपछि उत्पन्न राजनीति संकट झन पछि झन चुलिदै गएको छ । त्यसको असर समग्र देश सञ्चालनमा परेको छ ।

आजभन्दा तीन महिना पहिला नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गरेसंगै लुम्बिनी प्रदेशका प्रत्यक्ष निर्वाचित माओवादी सांसद दधिराम न्यौपाने र दिनेश पन्थीको सांसद पद गयो । माओवादी केन्द्रले रुपन्देहीबाट निर्वाचित सांसद न्यौपाने र गुल्मीबाट निर्वाचित सांसद पन्थीलाई पार्टी परित्याग गरेपछि सांसदबाट बर्खास्त गर्‍यो । सांसदबाट बर्खास्त भएपछि यी दुवै नेता हालसम्म एमाले राजनीतिमा सक्रिय थिए । यद्यपि बुधबार मात्र यी दुवै एमाले नेता आफुहरु माओवादी भएको दावी गर्दै अदालतमा रिट हालेको विषय सार्वजनिक भएको छ ।

माओवादी केन्द्र मै रहेको दावीसहित नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह लगायतका नेताले अदालतमा रिट दिएको सार्वजनिक भएसंगै लुम्बिनी प्रदेश सांसदबाट बर्खास्तमा परेका न्यौपाने र पन्थी पनि स्वयम दावी गर्दै अदालत गएको स्रोतले बताएको छ ।

उनीहरुले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गर्न प्रदेशको संसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्ण बहादुर घर्तीले दुवै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए ।

सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ७ : ५७ बजे