६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

बाघको वासस्थान सुरक्षित गराउन जङ्गल जोगाउनेतर्फ ध्यान दिनुपर्छः प्रधानमन्त्री देउवा



काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थानलाई सुरक्षित गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको वासस्थानका लागि जङ्गल आवश्यक रहेको र जङ्गल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी–निकासी रोक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाघका लागि जङ्गल आवश्यक छ । जङ्गल र बाघ एकअर्काका लागि आवश्यक कुरा हुन् । बाघको वासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’ उहाँले बाघको रक्षामा सबैले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७८ बिहिबार ००:००  ४ : २१ बजे