४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङका तीन गाउँः जहाँ घण्टौँ लाइनमा बसेर मोबाइल चार्ज गर्नुपर्छ



दाङ ।

दाङको सदरमुकाम घोराही उपमहानगरपालिका १९ का तीन वटा गाउँमा अहिलेसम्म बिजुली नपुग्दा मोबाइल चार्ज गर्न एक घण्टासम्म हिँडेर अर्को गाउँमा जानुपर्ने बाध्यता रहेको छ । घोराही उपमहानगरपालिका १९ का श्रीचौर, भलारा र छाप गाउँमा बिजुली बत्ती पुगेको छैन । तीन वटा गाउँमा करिब एक सय ५० घरधुरीको बसोबास रहेको छ । मोबाइल चार्ज गर्न नजिकको गाउँबाट आधा घण्टा र टाढाको गाउँबाट एक घण्टासम्म पैदल हिँडेर छोडनेटा बजारमा आउनुपर्ने बाध्यता रहेको श्रीचौरका स्थानीय नरबहादुर घर्तीले बताउनुभयो ।

सबैका घरमा मोबाइल छन्, अरुले चलाउँदा आफूले पनि चलाउन पर्यो । त्यसैले मोबाइल चार्ज गर्न आएका छौँ—मोबाइल चार्ज गर्न आउनु भएका घर्तीले भन्नुभयो—कहिलेकाँही त घण्टौँ लाइन बसेर बल्ल चार्ज गर्ने पालो आउँछ ।

घोराही होलेरी सहिद मार्ग अन्तर्गत पर्ने छोडनेटा बजारका ९ घरमा गएको वर्ष बिजुलीको लाइन जोडिएको हो । गाउँतिर लाइन जाने त सुरसार नै नभएको ताराबहादुर विकले बताउनुभयो ।

उपमहानगरपालिकाको बासिन्दा भए पनि गाउँमा बिजुलीको लाइन नपुग्दा टेलिभिजन चलाउने, बत्ती बाल्ने जस्ता कुरा सपना जस्तै भएको स्थानीयको गुनासो छ । तीन गाउँका मानिसहरु आफैँ पालो मिलाएर मोबाइल चार्ज गर्न आउने गरेको च्यानगैरा बजारकी बिमला घर्तीले बताउनुभयो । छोडनेटा बजारमा मोबाइल चार्ज गर्न आउनेको प्रायः मेला लागे जस्तै हुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ११ : ३४ बजे