४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्टः डब्ल्यूएचओ



काठमाण्डौ ।

विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्ल्यूएचओको भनाइ छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गएको हप्ता ज्यान गुमाएकाहरुको सङ्ख्यामा पनि थोरै वृद्धि भएको डब्ल्यूएचओका अधिकारीहरुले जनाएका छन् । डब्ल्यूएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्ल्यूएचओले जनाएको छ ।

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन्। कतिपय देशहरुमा कोरोना भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ११ : ४३ बजे