७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सांसद पदमा पुनर्बहालीको माग गर्ने चार नेताको रिटमा आज पनि सुनुवाइ भएन



काठमाडौँ ।

आफूहरुले माओवादी केन्द्र परित्याग नगरेको दाबी गर्दै सांसद पद पुनर्बहालीको माग लिएर सर्वोच्च पुगेका चार सांसदको रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुन सकेन। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिए पनि निवेदक पक्षका कानुन व्यवसयीले नै स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ नभएको हो। बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

राजनीतिक रुपमा माओवादी छाडेका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधबार सर्वोच्च अदालतमा अलग–अलग रिट दिएका थिए। उनीहरुले आफूहरु एमाले प्रवेश नगरेको र माओवादी केन्द्रको केन्द्रीय कमिटिको सूचीमा अझै आफ्नो नाम रहेकाले सांसद पद खारेज गर्ने गरी भएको निर्णय बदर गर्न माग गरेका छन्।एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए। माओवादी केन्द्रले दल त्यागेको भन्दै गत चैत २४ गते संसद सचिवालयलाई पत्र लेखेका आधारमा उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  २ : १४ बजे