२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गरियोस्– भीम रावल



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद् रावलले एमसीसीको मुल सम्झौता र अन्य सहायक सम्झौताहरूको विषयमा नेपाली जनताले जान्न आवश्यक हुने भएकाले प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको हो ।

‘एमसीसी सम्झौता तत्काल प्रतिनिधिसभा बैठकमा पेश गरियोस्,’ उहाँले भन्नुभयो, ‘त्यसभित्र भएका राम्रा र नराम्रा विषयका बारेमा नेपाली जनताले जान्न पाउनुपर्छ, हरेक सांसद्ले त्यसको विषयमा जान्नु आवश्यक छ ।’

एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदा(बुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको स्वाधिनता र स्वाभिमान खिलाप हुने कुनै पनि बुँदा र प्रावधान छन्, त्यसलाई संशोधन गर्नुपर्छ ।’

उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पन नसकिने अडान दोहोर्‍याउनुभयो । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइने भए पनि त्यो संविधान र स्वतन्त्र परराष्ट्र नीति अनुसार हुनुपर्ने बताउनुभयो । उहाँले सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक(पटक दोहोर्‍याउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ५ : २२ बजे