२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

वाणगंगा कपिलवस्तुको पहिलो बालमैत्री स्थानीय शासन घोषित



मायादेवी अनलाइन, चारनम्बर
कपिलवस्तुको पहिलो बालमैत्री स्थानीय शासनको रुपमा वाणगंगा नगरपालिकालाई घोषणा गरिएको छ । शुक्रबार एक समारोहका बीच वाणगंगालाई जिल्लाको पहिलो, प्रदेशको तेस्रो र नेपालको नवौं बाल मैत्री स्थानीय शासन भएको नगर घोषणा गरिएको हो ।

नगर बालमैत्री स्थानीय शासन घोषित गर्नु पूर्व नगरका ११ वटै वडा कार्यालयलाई बालमैत्री स्थानीय शासन वडा भएको घोषणा गरिएको थियो ।
वडा घोषणा भए लगत्तै सिंगो नगरलाई बालमैत्री स्थानीय शासन घोषणा भएको सार्वजनिक गरिएको थियो । जिल्ला समन्वय समिति कपिलवस्तुले उक्त घोषणाको प्रमाणपत्र वाणगंगालाई प्रदान गरेको थियो ।

विगत बर्षदेखि बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न प्रयासहरु भैरहे पनि कोरोना भाइरसको कारण सोचेजस्तो गरी काम अगाडी बढ्न सकेको थिएन । यद्यपि विभिन्न चुनौतीका बीच ११ वटै वडासहित सिंगो नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सफल भएको नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासन घोषणाका लागि चाहिने झण्डै ९८ प्रतिशत सूचक पूरा गरेको नगर प्रमुख थारुले बताउनुभयो । बालमैत्री स्थानीय शासन घोषणाका लागि बाल बचावट, बाल सहभागीता, बाल विकास र बाल संरक्षणमा जोड दिनुपर्ने हुन्छ ।

घोषणा समारोहमा बोल्दै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य चक्रपाणि खनालले घोषणासंगै अब थप चुनौती थपिएको बताउनुभयो । घोषणा आफैमा पूर्ण नभए पनि थप क्रियाशील बन्ने कामको थालनीका रुपमा बुज्नुपर्ने भन्दै अब नगर बालमैत्री स्थानीय शासनका रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रदेशसभा सदस्य विष्णु पन्थी, पूर्वमन्त्री दीपकुमार उपाध्याय, जिल्ला समन्वय समितिका सभापति नारायण खनाल लगायतले बोल्दै वाणगंगाले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा अभियान सफल पार्न महत्वपूर्ण सहयोग गर्ने वडा बाल सञ्जाल, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ६ : ११ बजे