२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तु दक्षिणका जनतालाई विकास चाहिँदैन ‘थाना अड्डा’ गइदिए पुग्छः बलदेव



मायादेवी अनलाइन, चारनम्बर ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) ले यो मुलकुमा अब २ कुरा सम्भव नरहेको बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई मुलुकभर नै नवौँ, लुम्बिनी प्रदेशमा तेश्रो र कपिलवस्तुमा पहिलो ‘बालमैत्री स्थानीय शासन नगरपालिका’ घोषणा सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बलदेवले राजसंस्था फर्कने र फेरि पनि संविधानमाथि खतरा हुने हो कि भन्ने सोँचका अवशेषहरु यदाकदा अझै पनि सुनिने गरेकोले त्यो अब सम्भव नरहेको ठोकुवा गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘म धेरै लामो राजनैतिक भाषण गर्दैन । आज त्यो भाषण गर्ने दिन पनि होइन । तर २ कुरा ग्यारेन्टी हो । राजसंस्था फर्कन सक्दैन । संविधान कसैले मास्न खोजेर मासिन्न । लामो संघर्ष र बलिदानीले अहिलेको परिवर्तन(गणतन्त्र) आएको हो । यसमा हजारौँ सहिदको रगत मिसिएको छ । कसैले चाहदैमा परिवर्तन उल्टिन्छ भनेर उल्टदैन ।’ यस्तो कुरा कसैले कल्पनासम्म गर्न नसक्ने उहाँले बताउनु भयो । मुलुकमा राजनैतिक समस्या रहे पनि ती सबै समाधान हुने र फेरि मुलुकले गति लिने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

प्रमुख अतिथि बलदेवले बाणगंगाले बालमैत्री नगर घोषणा गरेर ठुलो चुनौति मोलेको भन्दै प्रसंसा गर्नुभयो । धेरै ठाउँमा हरेक कुराहरु चुस्तदुरुस्त बनाएर मात्र बिभिन्न अभियानहरु घोषणा हुने गरेको भन्दै यसमा बाणगंगाले फरक ढंगले काम गरेको आफूले पाएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘बालमैत्री नगर बनाउनु आफैमा चानेचुने कुरा होइन । यहाँ बालमैत्रीका सूचकहरु सबै पुरा भए होइन । अझै धेरै गर्न छ । तर गर्न बाँकी रहेका काम पुरा गरेरै छोड्छौँ भनेर जुन घोषणा भएको छ । यो आफैमा उदाहरणीय काम हो । यो साहसिलो काम हो ।’

मुलकका धेरै पालिकाहरु अझै बिभिन्न अलमलमा परेपनि शिक्षा, स्वास्थ्य, सरसफाई, भौतिक पुर्वाधारको विकासमा बाणगंगा धेरै अगाडी रहेको उहाँको ठम्याई छ । नेता बलदेवले उत्तर (बाणगंगा, बुद्धभूमि, शिवराज, विजयनगर ) पालिकाको सिको कपिलवस्तुका दक्षिणी पालिकाहरु ले गर्न जरुरी रहेको समेत बताउनु भयो । दक्षिण (मायादेवी, कपिलवस्तु, शुद्धोद्धन, महाराजगंज, कृष्णनगर) का जनतालाई अहिले विकासभन्दा पनि मुद्द्धा, मामिला, झैझगडा, हिंसा आदि कुरामा भनसुन गरिदिए पुग्ने भन्दै आफूले विकासका कुरा कम गर्न थालेको उहाँले सुनाउनु भयो । ‘पहिले मैले दक्षिणका जनतासंग धेरै विकासको कुरा गर्थेँ । तर आजकल विकासको कुरा आधा कम गर्न र आधा त्यस्तैत्यस्तै कुरामा सहभागि हुनु पर्ने बाध्यता छ, उहाँहरुलाई विकास चाहिन्न । थाना, अड्डा, अदालत गइदिए पुग्छ । उहाँले भन्नुभयो ।’

कहिलेकाँहि अड्डा अदालत जान नसक्दा ए बलेदेव तपाईँको त्यत्ति पनि पावर छैन । त्यति काम गर्न सक्नुहुन्न ? जनयुद्धमा लडाकु भएको के काम लाग्यो ? मन्त्री भएको के काम लायो ? भनेर जनताले हपार्न थालिसकेको समेत उहाँले सुनाउनुभयो । तर आफू त्यस्ता काममा सारिक हुन भन्दा विकासका काममा नै भाग लिन पाउँदा खुसी हुने र ती कुरालाई सहज रुपमा लिने बानी परिसकेको बताउनु भयो ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  १० : ५९ बजे