१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

माधव नेपालजस्ता देशद्रोहीलाई एमालेमा ठाउँ छैनः ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो संज्ञा दिएका हुन् । उनले भने, ‘माधव नेपालजस्ता आन्दोलन विरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन । आफ्नो पार्टीको अध्यक्ष र प्राधनमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर, दक्षिणपन्थी सरकार बनाउन विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज र दलाली काम अरू के हुन सक्छ ? यस्तालाई पार्टीमा ठाउँ छैन ।’

प्रतिक्रियावादी शक्तिहरूसँग मिलेर एमालेको सरकार ढालेको र प्रतिगनमनमा सहभागी भएर दक्षिणपन्थी सरकार बनाएको आरोप पनि ओलीले नेपालमाथि लगाए । उनले भने, ‘अदालतले पार्टी फुटाएको होइन । अर्को नाममा दर्ता गर्न आऊ भनेको थियो । मैले प्रचण्डलाई फोन गरेर अनेक पटक सोधे । उनले मजाकको विषय बनाएर उडाए ।’

अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको ओलीले बताए । ‘पार्टी छाडेको हो उनीहरूले । एकीकरण गलत थिएन । केही मान्छेहरूले पार्टी छाडे । प्रचण्ड एण्ड कम्पनीले पार्टी छाडे,’ सम्बोधनको क्रममा ओलीले भने, ‘हामी पूर्व नाममै फर्किएका हौं । पूर्व एमाले, पूर्व माओवादी पनि एकीकृत भावनाका साथ यो पार्टीमा हुनुहुन्छ ।’मुख्य–मुख्य अपराधीबाहेक अरू साथीहरू गल्ती महसुस गरेर फर्किन्छन् भने पार्टीमा स्वागत गर्न तयार रहेको र उनीहरूसँग कुरा पनि भइरहेको उनले बताए । ‘जो–जो आउनुहुन्छ ठीक छ । आउनुहुन्न भने पनि चिन्ता छैन । समय छुट्दैन । मान्छे मात्रै छुट्छ । गल्ती त सानो होइन, पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो दक्षिणपन्थी सरकार बन्यो, ’ ओलीले भने । आगामी निर्वाचनबाट दुई तिहाइ मत ल्याएर सरकार बनाउने दाबी पनि ओलीले गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  २ : २४ बजे