१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बिमला वली माओवादीमा सक्रिय, आज पत्रकार सम्मेलन गर्ने



काठमाण्डौँ ।

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा सक्रिय हुने भएकी छन्। हालै नेकपा एमालेमा सक्रिय रहने विज्ञप्ति जारी गरेकी उनले ‘बोली फेर्दै’ माओवादीमै फर्किएकी छन्।

उनी गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएकी थिइन्।एमाले र एमाओवादी मिलेर नेकपा बने पनि फागुन २३ को सर्वोच्चको फैसलाले यी दुई दल पुनस् अस्तित्वमा आएसँगै वली कहिले एमाले कहिले माओवादीमा सक्रिय छन्।

पछिल्लोपटक वली एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। उनी माओवादीमा फर्किएको र आज पत्रकार सम्मेलन गरिने माओवादी नेताहरू बताउँछन्। आज बिहान विज्ञप्तिको डाफ्ट तयार पार्ने काम भइरहेको छ।

माओवादी केन्द्रका नेतासमेत रहेका सांसद ईन्द्रजित चौधरीले वली माओवादीमै फर्किएको बताए।‘बिमलाजी हामीसँगै हुनुहुन्छ। उहाँ माओवादीमै हुनुहुन्छ। विज्ञप्ति डाफ्ट गर्दैछौं,’ उनले भने, ‘आज दिउँसो १ बजेतिर हामी पत्रकार सम्मेलन पनि गर्छौं, त्यहाँ बिमलाजी पनि उपस्थित हुनुहुन्छ।’

गत साउन १५ देखि विमला सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। उनी उपचारका लागि नेपालगञ्ज जाने भनिएको थियो।साथै गत साउन १९ मा बिमलाको नामबाट एउटा विज्ञप्ति आयो। जसमा उनी एमालेमा फर्किएको उल्लेख थियो।

यसबीचमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।आफ्नो पक्षमा बहुमत पुर्‍याउन सत्तारूढ एमाले र विपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित दलका सांसदहरू थप सांसद आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०७८ बिहिबार ००:००  १० : १२ बजे