१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

‘महाकाली मेची समबेदना साइकल यात्री’ लाई कपिलवस्तुमा स्वागत



मायादेवी अनलाइन, चारनम्बर ।

‘महाकाली मेची समबेदना साइकल यात्रा २०७८’ मा निस्किएका साइकल यात्रीलाई कपिलवस्तुमा स्वागत गरिएको छ । कोरोनाबाट ज्यान गुमाएका बिश्वभरका नागरिकको आत्मशान्ति र उहाँहरुका परिवारको समबेदनाको लागि यात्रामा हिड्नु भएका तेज बिक्रम शाह (५६ ) बर्ष र उहाँका सहयोगीलाई बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा स्वागत गरिएको हो । साइकल ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा साइकल यात्रीहरुलाई खादा लगाइदिएर तथा मैनवत्ति प्रज्वलन गरेर स्वागत गरिएको थियो ।

शाहसंग सहयोगी पल्लवी सिंह राठौर, सुनिल केसी, मोहन घर्ती पनि महाकाली मेची समवेदना साइकल यात्रामा हिँड्नु भएको छ । कोरोनाका कारण मृतकका परिवारमा हौसला टुटेको र विश्वभर तनावपूर्ण स्थिति रहेको देखेपछि आत्मबल बढाउनको लागि सहयोग पुगोस् भनेर साइकल समबेदना यात्रामा निस्किएको प्रमुख अतिथि तथा साइकल यात्री शाहले मायादेवीसंग बताउनु भयो । उहाँले भन्नुभयो, ‘कोरोनाले गर्दा आज विश्व समुदाय आतंकित छ । विश्वभर तनाव छ । केटाकेटी बुढाबुढी, युवायुवतीमा एक प्रकारको मानसिक वेचैनी छ । कसै न कसैले त मानिसको आत्मविश्वास बढाउनै पर्यो । त्यसकारण यो साइकल यात्राको धारणा बनाएँ यात्रा सुरु गरेँ । यात्रापछि सबैले सहयोग र सहानुभूति दिइरहनु भएको छ ।’

प्रत्येक दिन १ सय ३५ देखि ४० किलोमिटर यात्रा गर्दा पनि आफू कत्ति विचलित नभएको उहाँको भनाई छ । उहाँले अब साइकल चढ्नेको बानी विकास गराउन सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो । श्रीमती र आफू कोरोना संक्रमित भएको स्मरण गर्दै उहाँले कोरोनाको लक्षण देखिना साथ जाँच गरिहाल्नु पर्ने सन्देश पनि दिनुभयो । कोरोनामा लापरबाही गरेमा बच्न नसक्ने समेत उहाँको भनाई छ । उहाँले स्वस्थ हुने उपायहरु मध्ये साइकल सवार पनि मुख रहेको भन्दै सबैलाई साइकल चढ्न सुझाउनु भयो ।

साइकल चढ्दा भर्खरको महसुस हुने, रोग पनि नलाग्ने, साथी सर्कल बन्ने इत्यादी फाइदा रहेको हुनाले हुनाले सबैले साइकल चलाउनु पर्ने उहाँको भनाई छ ।

कार्यक्रमका अध्यक्ष विष्णु घिमिरेले साइकल समवेदना यात्रा नौलो र उत्तिकै सन्देशमुलक रहेको भन्दै प्रसंसा गर्नुभयो । आफ्नो र काम र ब्यस्ततालाई थाती राखेर ५६ बर्षीय बुबाले साइकल चलाएको देख्दा आफू अचम्ममा परेको भन्दै उहाँबाट अरुले पनि केही सिक्नु पर्ने घिमिरेले बताउनु भयो ।

६० बर्षीय साइकल यात्री एच बि बर्माले आएको टोलीलाई दाङ देखि बुटवलसम्मको यात्रामा सहयोग गर्नु भएको छ । चार नम्बरका स्वास्थ्यकर्मी सन्तोष गैरेको स्वागत र रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा कोरोनाका कारण दिवंगतहरुको लागि १ मिनेट मौन धारण गरिएको थियो भने मैनवत्ति प्रज्वलन गरेर दिवंगतहरुलाई सम्झना गरिएको थियो ।

May be an image of 14 people, including सन्तोष गैरे गोर्खाली and people standing


कार्यक्रममा बुद्धभूमिका १ दर्जन बढी साइकल यात्रीले सहभागिता जनाएका थिए । विहीबार चार नम्बर आएको टोलीको शुक्रबार तौलिहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी हुँदै रुपन्देहीको बुटवल पुग्ने र कार्यक्रम गर्ने तालिका छ । यात्राको क्रममा कपिलवस्तुमा भव्य माया पाएको भन्दै टोलीले धन्यबाद दिएको छ । टोली १७ गते महाकालीको चाँदनी दोधाराबाट साइकल यात्रामा निस्किएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८ बिहिबार ००:००  ११ : ४८ बजे