२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दाङमा एक वर्षमा सवारी दुर्घटनामा परि ७७ जनाको मृत्यु



दाङ ।

दाङमा एक वर्षमा २८९ वटा सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ। मृतकमध्ये ६१ पुरुष‚ ६ महिला र १० जना बालबालिका रहेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ। दुर्घटनामा २३३ जना गम्भीर र १३९ जना सामान्य घाइते भएका छन्। आर्थिक वर्ष २०७७-७८ दुर्घटना भएका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार १६६ वटा मोटरसाइकल, २९ वटा जिपरकार, २१ वटा टेम्पो, १८ वटा बस, १६ वटा ट्रक र ट्यांकर, १४ वटा ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए। त्यस्तै, टिपर ६ वटा, माइक्रो बस २ वटा र अन्य १७ वटा सवारी दुर्घटना भएको उनले बताए।

ट्राफिक प्रहरीको अनुसन्धानले तीव्र गतिका कारण ७० प्रतिशत दुर्घटना भएको देखाएको छ। तीव्र गतिका कारण १७२ वटा दुर्घटना भएका थिए। त्यस्तै‚ चालकको लापरबाहीका कारण १९ वटा, यात्रुको गल्तीका कारण एउटा, ओभरटेकका कारण एउटा, यान्त्रिक समस्याका कारण पाँच, सडकको अवस्थाका कारण दुई र मौसम प्रतिकूलताका कारण एउटा दुर्घटना भएको थियो। ट्राफिक प्रहरीका अनुसार मध्याह्न १२ देखि साँझ ६ बजेसम्म र साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेका छ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ३ : ५६ बजे