२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा आजदेखि भेरोसेलको दोस्रो डोज खोप दिइँदै



कपिलवस्तु ।
कपिलवस्तुमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय तौलिहवाका अनुसार यस अघि जिल्लामा तोकिएको लक्षित वर्गका व्यक्तिहरु मध्ये भेरोसेलको पहिलो डोज लिएकाहरुलाई दोस्रो डोज भेरोसेल खोप दिने गरी तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालयले सबै स्थानीय तहहरुलाई खोप कार्यक्रमका लागि निर्देशन गरेको छ भने, स्थानीय तहहरुले सम्बन्धित सबै स्वास्थ्य चौकी र अस्पतालहरुलाई खोप कार्यक्रमको तयारी गर्न आग्रह गरेका छन् ।

यस्तै यता बाणगंगा नगरपालिकामा सोमबार देखि २७ गते बुधबारसम्म खोप कार्यक्रम संचालन हुने उल्लेख गरेको छ ।

कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि यस अघि पहिलो डोज लगाएका व्यक्तिहरुले खोप लगाएको कार्ड लिएर सम्बन्धित वडाको स्वास्थ्य चौकी मार्फत खोप लगाउन पाउने छन् ।

खोपको दोस्रो डोज लगाउनका लागि पहिलो खोप लगाएको २१ दिन पुगेको हुनेपर्ने जनाएको छ । बिहान साढे १० बजे देखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा जारी सूचनामा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ६ : ३० बजे