२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

पाल्पामा नागरिकता लिनेको घुइँचो



रामपुर ।
इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ। तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो।

त्यहाँबाट दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएको छ। जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेका हुन्। रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने बढेका छन्।

विगतमा दैनिक २५ वटासम्म नागरिकता दिइने गरेकामा अहिले दैनिक ९० वटासम्म नागरिकता दिन थालिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुखको व्यवस्था नहुँदासम्म जिप्रकाले साउन ७ गतेदेखि बिहीबार र शुक्रबार हप्तामा दुई दिन प्रशासकीय अधिकृत खटाएर सेवा दिँदै आएको हो। साउन २० गतेदेखि राष्ट्रिय परिचय पत्र दिन थालिएकाले २१ गतेदेखि जिप्रकाको टोलीले यहाँ नियमित बसेर सेवा दिँदै आएको र शुक्रबारसम्म नौ सय नागरिकता जारी गरिएको निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिए।

सेवाग्राहीको भीड बढेकाले जिप्रकाबाट प्रशासकीय अधिकृतसहित एक नायब सुब्बा र नगरपालिकाबाट एक खरिदार पनि परिचालन गरिएको छ।

अहिले अत्यधिक सिफारिससहित निवेदन परेकाले समयमै नागरिकता जारी गर्न समस्या हुँदा सेवाग्राहीले पालो कुर्नुपरेको छ। भदौ १८ गतेसम्मका लागि पुग्ने गरी निवेदन संकलन भइसकेको कार्यालयले जनाएको छ। नयाँ र प्रतिलिपि लिने सेवाग्राहीको संख्या धेरै रहेको पाइएको छ।

टोली आएर सेवा दिन थालेकाले यही मौकामा छोरीको नागरिकता बनाइदिएको नगरपालिकाको कार्यापालिका सदस्य सावित्रा गौतमले बताए। ‘पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायाममा सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकता बनाइयो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ,’ उनले भने।

नगरपालिकासहित निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ तथा ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका नागरिकले सेवा लिँदै आएका उक्त कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, जनजाति प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरणलगायत काम हुँदै आएको छ।

राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले जिप्रका जल्नुअघि नै नागरिकता बनाएर हराएका र उमेर पुगेर पनि विविध कारणले छुटेकाले पनि नागरिकता बनाएका छन्।

नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण मिलाउनुपर्दा समय लागेकाले कार्यालयमा दैनिक भीड हुने गरेको छ। रासस

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  ८ : ०२ बजे