३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

एसपी कार्कीको ब्यङ्ग्यः हामी त ‘डण्ठे’ न हौँ, डण्ठेले विद्धानलाई मास्क लगाऊ भन्नुपर्छ’



मायादेवी अनलाइन, चार नम्बर ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले समाजका विद्धान र अगुवा हुँ भन्नेहरुले नै स्वास्थ्य मापदण्डको उलंघन गरेको बताउनु भएको छ । कोरोनाको त्रास र महामारी छ, मास्क लगाउनु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि समाजका नेतृत्व गर्ने ब्यक्तिले मास्क नलगाई लखरलखर हिँड्ने बानीले समस्या हुने गरेको उहाँले बताउनु भयो ।

बाणगंगा नगरपालिकामा भएको कोरोना पहिचान गर्नको लागि समुदायमा शिक्षक कार्यक्रममा बोल्दै एसपी कार्कीले भन्नुभयो ‘हामी त पुलिस त डण्ठे न हौँ । हाम्लाई के थाहा छ र हैन? हाम्ले भन्दाखेरि पनि विद्वानहरुले मान्नुहुन्न । विद्धवानहरुले हाम्लाई कहिले भन्नुहोला र हाम्ले पनि सिकौँला भन्छौँ । विद्धानहरुले हामीलाई कहिल्यै पनि सिकाउनु हुन्न । कार्कीको यो भनाई सुन्ने वित्तिकै हल हाँसोले गुञ्जिएको थियो । सामाजिक अगुवाको खास चरित्रमाथि उहाँले सो ब्यङग्य गर्नु भएको हो ।

उहाँले भन्नुभयो ‘प्रहरीलाई देखेपछि मास्क र हेल्मेट लगाइन्छ । डिस्टान्सिङ गरौँ है भन्छौँ । चप्कीचप्की हिँड्नु पर्छ । कोरोनाको महामारी भएको दुई बर्ष भयो अझै पनि मास्क लगाउ भनेर प्रहरीले भन्नुपर्दछ ।’ बैङ्क, मालपोत, संघसंस्था, कार्यालय, सवारी साधन जताततै नचप्की नहुने खालका संस्कृति विकास हुँदा पनि कोरोना नियन्त्रण गर्न समस्या भएको उहाँले बताउनु भयो ।

’जापान लगायतका देशमा सरकारले के भन्छ भनेर जनता सुन्न बुझ्न आतुर हुन्छन् र भनेको मान्छन्, हामी कहाँ सरकारले यो गर भनेर उर्दी गर्छ । हामीलाई उल्टो बाटो हिँड्न मन लाग्छ । केही पनि निर्देशन मान्दैनौँ कार्कीले भन्नुभयो । ‘नेपालमा कोरोना महामारी नियन्त्रणमा नआउनुमा यो कारण पनि प्रमुख रहेको एसपी कार्कीको भनाई छ ।

विद्यालय संचालन हुने अवस्था आए पनि हरेक विद्यालयको गेटमा हात धुन ठाउँ र साबुन राख्ने, विद्यार्थीले अनिवार्य रुपमा मास्क लगाउने, पढाउँदा, विद्यालय प्रवेश गर्दा, निस्कँदा, वसमा बस्दा सामाजिक दुरी कायम गर्ने हो भने सिकाई केन्द्रको रुपमा विद्यालय संचालन गर्दा ठिकै हुने र यी पालना गर्न नसक्ने हो भने विद्यालय खोल्न नहुने उहाँले धारण राख्नु भयो ।

मास्क लगाउ भनेर जतिसुकै गीत गाए पनि कोरोना नियन्त्रण नआउने भन्दै ब्यवहार परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । अभिभावकले आफूले मास्क नलगाउने अनि बच्चालाई मास्क लगाउ भनेर मात्र कोरोना नियन्त्रण नआउने भन्दै उहाँले बच्चालाई मास्क लगाउ भन्दा अभिभावकले पहिले आफूले मास्क लगाउन जरुरी रहेको बताउनु भयो ।

कपिलवस्तुमा समुदायमा शिक्षक परिचालन गरेर कोरोनाको स्थिति पहिचान गर्ने काम बाणगंगा नगरबाट थालनी भएकोमा खुसी ब्यक्त गर्दै कार्कीले कामको प्रसंसा गर्नुभयो । शिक्षकले भनेको कुरा अभिभावक र विद्यार्थीहरुले मान्ने भएकाले नगरकै सही डाटा निर्माणमा अभियानले सहयोग गर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  ११ : ११ बजे