३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

सुदूरपश्चिममा नेकपा एसका सांसदको सनाखत आजै गराईदै



कैलाली ।
सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका सांसदको आज सनाखत गर्ने तयारी छ । निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको अझै सनाखत हुन लागेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् । एमालेमा १० बुँदे सहमतिको कार्यान्वयन र पार्टी संरचना जेठ २ मा ब्युँतिएसँगै भीम रावलले सुदूरपश्चिम इन्चार्जको भूमिका पाइसकेका छन् । आज त्यहाँ जान लागेका रावलले व्यक्ति(व्यक्तिगसँग डिल गरिरहेकाले प्रदेश सदस्यहरुको मन भाँडिदिने डरले एकीकृत समाजवादीले आजै सबैको सनाखत गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दावी गरेको छ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन् । अहिले सभामुखसहित एमालेका २५, माओवादी केन्द्रको १२ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले आजै सनाखत गर्न आउने जानकारी गराइएको बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  ३ : २६ बजे