२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

भौतिक रुपमै विद्यालयमा पठनपाठन गर्न सरोकारवालाको सुझाव



मायादेवी अनलाइन, शुद्धोधन ।

लामो समयदेखि विद्यालय पठनपाठन नहुँदा बालबालिकाको भविष्य अन्यौल भएकाले शिक्षण सिकाईलाई निरन्तरता दिनुपर्नेमा कपिलवस्तुका सरोकारवालाले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले कोभिड १९ को महामारी र शिक्षण सिकाईका विकल्पहरु विषयक शुद्धोधन गाउँपालिकाका सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा शिक्षकहरुले विद्यालय बन्द हुँदा बालबालिकाहरु पढ्नबाट बञ्चित भएको बताएका थिए ।

गाउँपालिका स्तरीय अन्तरकृया कार्यक्रममा गत ५ महिनादेखि विद्यालयमा पठनपाठन नहुँदा अभिभावक र विद्यार्थीहरुमा निराशा बढेको बताएका थिए । महामारीका बेला शिक्षण सिकाईका विकल्पको रुपमा सरकारले संचालन गरेको अनलाइन कक्षाको कुनै प्रभावकारी नभएकोले प्रत्यक्ष शिक्षण सिकाई विधी अपनाउनुपर्ने शिक्षकहरुले जोड दिएका थिए । पछिल्लो समय सिओजी सिमबाट पठनपाठन गराउने भनेपनि विद्यालयमा यसको आवश्यकता र प्रयोगबारे विद्यार्थी अभिभावकमा अन्यौलता बढेको समेत बताएका थिए । आर्थिक अभावका कारण कयौं अभिभावकसंग मोवाईल सेट नहुँदा यसको प्रयोगमा अभिभावकले रुची नदेखाएको पूर्णकेशर मावि बग्दीका प्रद्यानाध्यापक लिला खनालले बताउनुभयो ।

शुद्धोधन गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनीराम शर्माले अभिभावक र शिक्षकहरुको विद्यालय खोल्ने चाहनालाई आफुहरुले छिट्टै नै कार्यान्वयन गरी स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रुपमै विद्यालय संचालन गर्ने योजना रहेको बताउनुभयो । शिक्षण सिकाईका वैकल्पीक उपायमा गाउँपालिकाका विद्यालयमा इन्टरनेट, विद्युतको समस्या रहेको र रेडियो तथा टेलिभिजनबाट दिइने शिक्षामा अभिभावकको पहुँच नहुने पाइएकाले अनलाइन कक्षा प्रभावकारी नदेखिएको शिक्षा अधिकृत धनीराम शर्माले बताउनुभयो । उहाँले भदौ १ गतेदेखि गाउँपालिकामा कोरोनाको केसहरु नपाइएको स्वास्थ्य शाखाको रिपोर्टले समेत आइसकेकाले भौतिक रुपमा विद्यालय खोल्न सकिने बताउनुभयो ।

शिक्षा पत्रकार समूहका कृष्ण मल्लले शिक्षण सिकाईका विकल्पहरुबारे अन्यत्र विद्यालयले गरेका नमुना अभ्यासबारे जानकारी दिदै कोरोना घट्दो अवस्थामा स्वास्थ्य सतर्कता अपनाउदै विद्यालय खोल्न सकिने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले शिक्षकहरुको चाहना वमोजिम विद्यालय खोल्ने कुरामा आफु प्रतिवद्ध रहेको बताउदै गाउँपालिकाको शिक्षा समिति र कार्यपालिकाको वैठकले निर्णय गरेर पठनपाठन सुचारु गरिने जानकारी दिनुभयो । उहाँले कोभिडका कारण शिक्षाक्षेत्र कमजोर हुदै गएकाले सरोकारवाला सवै यसप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । सवैक्षेत्र संचालन हुँदा विद्यालय मात्र बन्द हुनुपर्ने कारण आफुहरुले बुझन नसकेको समेत बताएका थिए । विद्यालय सुचारु गर्ने विषयमा सवै निकाय शिक्षक, अभिभावक र प्रहरी प्रशासनसंग समन्वय गरी अघि बढ्ने बताइएको छ ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी, आयोनका उपाध्यक्ष थानेश्वर अधिकारी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन वेल्वासे लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ६ : २० बजे