१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

हरिलाई बचाउन आमाले मिर्गौला दिँदै, धरौटी राख्ने पैसा नभएर समस्या



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन होला र ? अहिले त्यस्तै भएको छ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगा निवासी मनकला न्यौपानेलाई । २८ वर्षे लक्का जवान छोरो हरि न्यौपानको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि हरिकलाको मुहारमा खुशी छैन । जेठो छोरो र श्रीमान गुमाएर त्यही कान्छो छोरोको भरोसामा बाँचेकी ५४ बर्षीया हरिकला न्यौपानेलाई छोरालाई तलमाथि केही भइहाल्ने हो कि भन्ने रातदिन पिरलो छ ।

घरको आर्थिक अवस्था निकै कमजोर र दयनीय भएपछि आर्थिक जोहो गर्न छोरो हरि वैदेशिक रोजगारको शिलशिलामा दुवै गए । अलिअलि दुखजिलो गरेर कमाएको पैसा पनि लिएर उनी घर आए । तर आउनेवित्तिकै अचानक उनको स्वास्थ्यमा समस्या देखियो । त्यसपछि जाँच गराउन गएका हरिलाई वि सं २०७६ चैत्र १० गते मिर्गौलाले काम गर्दैन भन्ने थाहा भयो ।

छोरोको यो समस्या थाहा पाएदेखि मनकला अहिलेसम्म एकदिन पनि राम्ररी निदाउन पाएकी छैनिन् । छोराको उपचार गर्न देशविदेशमा सहयोगको विन्तिभाउ गर्दै उनी बसिरहेकी छिन् । अहिलेसम्म घरबारिबाटै आएको सहयोगले हरिले मिर्गौलाको डायलाइसिस गर्दै आइरहेका छन् ।

हरिको मिर्गौला फेर्ने निधो त गत बर्ष नै भएको हो । तर कहिले कोरोनाको कहर, कहिले प्रत्यारोपणपछि खाने औषधीको अभाव, कहिले विरामीको चाप इत्यादिले गर्दा हरिले समयमा मिर्गौला फेर्न पाएनन् । तर अब उनको मिर्गौला फेर्ने दिन निकै नजिक आएको छ ।

प्रत्यारोपण गर्दा मनग्यै खर्च लाग्ने भए पछि हरिकी आमा मनकलाले छोरालाई आफैले मिर्गौला दिने निधो गरी स्वास्थ्य जाँच गराएकी छिन् । आमाले छोरालाई मिर्गौला दिएर बचाउन सकिने कुरा बिभिन्न समाचारमा सुनेर थाहा पाएपछि हरिकलाले छोरोलाई बचाउन मिर्गौला दिन लागेको बताइन् ।

त्यसपछि काठमाण्डौँ पुगेरै चिकित्सकसंग परामर्श गरी अब उनले हरिलाई मिर्गौला दिदैं छिन् । अहिले आमाछोरा दुवैको जाँच सकिसकेको छ । आमाछोराकै ब्लड ग्रुपदेखि सबै मिलेको र अरु प्रकृयामा पुगिसकेकाले १ महिनाभित्र छोरो हरिलाई मिर्गौला दिने तय भएको उनले मायादेवी अनलाइनसंग बताए । ‘सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ’, हरिकलाले भनिन् ‘मिर्गौला त प्रत्यारोपण हुने भयो तर खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ ।

उनले थपिन् ‘मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयौं, पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो,’ ‘सबै परीक्षण सकिएको छ, अब चाँडो प्रत्यारोपणको तयारी छ ।’

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा हरिको सम्भवतह १ महिनाभित्र प्रत्यारोपण हुने बहिनी कृष्टि शर्माले बताइन् ।

प्रत्यारोपणका लागि केहीदिन अघि काठमाण्डौँ पुगेका हरिका परिवार अहिले घर आएर नाता प्रमाणित गरी पुनः काठमाण्डौँ जाँदै छन् । अब उनीहरु करिब ३ महिना काठमाण्डौँमा डेरा खोजेर बस्नु पर्ने चिकित्सकको भनाई उद्धृत गर्दै हरिकी बहिनीले बताइन् । हरिका अनुसार आमाको जाँचमा मात्र अहिलेसम्म ८ लाख खर्च भइसकेको छ । अहिले आफूले ६ हजार युनिट मुल्यको २ हजार २ सय ७६ पर्ने सुई लगाइरहनु परेको बताए । पटकपटक लगाउनु पर्ने यतिका महंगो सुई लगाउँदा सबै खर्च सकिएको उनले बताए ।

करिब १३ महिना बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा डायलाइसिस गरिरहेका हरिले अहिले काठमाण्डौँको ग्राण्डीसिटी हस्पिटलमा निकै महंगोमा (एकपटकको ५ हजार) को दरले हप्तामा २ पटक डायलाइसिस गर्दै आइरहेका छन् । बर्षभरी बुटवल आउजाउ गरेर डायलाइसिस गर्दा र महंगा औषधी खानु पर्दा प्रत्यारोपणको लागि जुटाएको १५ लाख भन्दा बढी रकम सकिएको हरिकी श्रीमती सिमा न्यौपानेले बताइन् ।
प्रत्यारोपण निशुल्क भए पनि बिभिन्न जाँचमा लाखौँ खर्च भइसकेको हुनाले प्रत्यारोपणपछिको खर्च कसरी ब्यहोर्ने आमा त्यसैमा चिन्तित छिन् । अहिलेसम्म १५ लाख खर्च भइसकेको र प्रत्यारोपणपछि लाखौँको आषैधी लाग्ने हुँदा कसरी जोहो गर्ने यही चिन्ताले रातदिन सुत्न नसकेको उनले बताइन् ।

प्रत्यारोपण गर्दा ६ लाख धरौटी राख्नु पर्नेमा अहिले पैसा पनि नभएको हरिले बताए । बाँकी रकम १० दिनभित्र जुटाएर धरौटी जम्मा गर्न नसके प्रत्यारोपणमा फेरि समस्या हुने हरि बताउँछन् । घरमा कमाउने कोही नभएपछि विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सहयोगको लागि न्यौपाने परिवारले विन्ति चढाइरहेको छ ।

हरिकी श्रीमतीले रुँदै भनिन् ‘गरिखाने परिवार प¥यौं, श्रीमान्को उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, अझै सहयोग पाए श्रीमानलाई बचाउन सकिन्थ्यो कि । विन्ति छ श्रीमानलाई बचाउन अझै सहयोग गरिदिनु पर्यो । अब हामीले कसलाई भन्ने ? फेरि एकपटक यहाँलाई सहयोगको विन्ती गर्दछु ।’ प्रत्यारोपण भएर आफू बाँचे आमाको मुहारमा खुसी छर्न आफूले सानोतिनो काम गर्ने समेत हरिले बताए । हरिले भने यसअघि देशविदेशबाट मलाइ सहयोग गर्नेहरु हुनुहुन्थेन भने यतिबेलासम्म म मरिसकेको हुन्थे। कोरोनाको यस विषम परिस्थितिमा हजुरले सहयोग गरेको हुनाले आजसम्म बाँच्न पाएको छु । फेरि पनि मेरो जीवन बचाउने दायित्व हजुरमै आयो । हिजोको सहयोगको एकएक हिसाब गरेर राखेको छु । सहयोग गर्ने सबैलाई फेरि पनि धन्यबाद ।

हरिको परिवारमा कमाउने अर्को कोही पनि छैन । मिर्गौला पीडित हरिलाई अझै पनि रकम अभाव भएको हुनाले सहयोग गरेर उनको जीवन बचाउन सोही वडाका वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले सबैमा अनुरोध गर्नु भयो । उहाँले हरिको जीवन रक्षाको लागि नगरले सहयोग गर्ने पनि बताउनु भयो । हरिलाई बचाउन मायादेवी अनलाइनले हरि बचाऔँ अभियान नै थालेको थियो ।

ग्लोबल आइएमइ बैङकमा हरि न्यौपानेको नाममा रहेको खाता नम्बर ८६०७०१०००३५१७ मा पैसा जम्मा गरी हरिलाई सहयोग गर्न सकिने छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ११ : ५९ बजे