१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शान्ति, सुरक्षा कायममा पिपरा प्रहरीको प्रगति, करिब २ करोड राजश्व संकलन



मायादेवी अनलाइन चारनम्बर ।

इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति गरेको देखिएको छ । आर्थिक बर्ष २०७७ । ७८ र चालु आर्थिक बर्षको असोज महिनाको पहिलो हप्तासम्म भएका बिभिन्न काम र गतिविधिलाई तथ्यांङकमा हेर्दा उल्लेख्य प्रगति गरेको पाइएको हो । शनिबार बाणगंगा नगरपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रहरी निरिक्षक दिनेश गुरुङले सार्वजनिक गर्नु भएको कार्यप्रगतिविवरणमा झै झगडा, चोरी शिकारी, मापसे कुटपिट, सवारी दुर्घटना, यौन दुर्वब्यवहार, हत्या लगायतका घटनाहरुको विवरणमा विगतका बर्षहरुमा भन्दा उल्लेख्य काम भएको पाइएको छ ।

यस्तै कार्यलयमा भौतिक संरचना निर्माण, संचार सुधार, कार्यलय व्यवस्थापन, सेवा प्रवाह, सिसि क्यामेरा जडानमा पनि प्रहरी निरिक्षक दिनेश गुरुङ नेतृत्वले प्रभावकारी काम गरेको देखिएको छ । इन्स्पेक्टर गुरुङका अनुसार राजश्व संकलनमा पनि उल्लेख्य काम भएको छ ।

गत आर्थिक बर्षमा भन्सार चोरी निकासीमा जम्मा ५८ लाख २१ लाख ५६ हजार ८ सय ४० राजश्व संकलन गरेको पिपराले चालु आर्थिक बर्षमा भने आक्रामक रुपमा काम गर्दै १ करोढ बढी राजश्व संकलन गरेको देखिएको छ । साउनमा ६२ लाख ८० हजार ८ सय ४०, भाद्रमा २९ लाख ३५, र असोजमा २९ लाख ४१ हजार (असोज ६ गतेसम्म) गरी यो ठुलो सफलता हात लागेको प्रहरी निरिक्षक गुरुङले सार्वजनिक सुनुवाइमा आँकडा प्रस्तुत गर्नुभयो ।

यता आत्महत्याका घटनामा भने वृद्धि भएको पाइएको छ । नगरको प्रमुख समस्याको रुपमा आत्महत्या र लागु पदार्थ दुव्र्यसनी रहेको बताउँदै उहाँले गत बर्ष मात्र २४ जनाले आत्महत्या गरेको र पछिल्लो ३ महिना (७८, साउन, भदौ, असोज) मा ६ जनाले आत्म हत्या गरेको बताउनु भयो । समग्रमा अपराध न्यूनिकरणमा पिपरा प्रहरी सफल देखिएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डले राम्रो काम गरेकोमा प्रसंसा गरे । प्रमुख अतिथि नगर उप–प्रमुख चक्र अर्याल, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्लाका नेपाल प्रहरी र शशष्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की र ध्रुव कार्कीले सहभागिले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रहरीको काममा सन्तुष्टि जनाउनु भयो । उहाँहरुले समग्र जिल्लाको शान्ति सुरक्षा, चाडपर्व केन्द्रित योजनाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

प्रहरी नायब निरीक्षक टुक बहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेलबासे, पार्वती आचार्य, नारायण पाण्डे, राधा पाण्डे, तुल्सीराम न्यौपाने लगायतले शान्ति सुरक्षा, जनताका समस्या समाधान लगायतका विषयमा जिज्ञासा र सुझाव राख्नु भएको थियो । कार्यक्रममा समाजसेवी, विभिन्न संघ संस्थाका पदाधिकारी, राजनीतिज्ञ, मानव अधिकारकर्मी, संचारकर्मी, बुद्धिजिवी लगायतको सहभागिता थियो । गुरुङको कार्यकाल यसै महिनामै सकिँदै छ । उहाँले पिपरा इलाकामा रहेर गरेको कार्यसम्पादनमा जिल्ला र प्रदेशबाट २ वटा पुरस्कार पनि पाइएसक्नु भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ९ : ०० बजे