१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीमा सस्तो भ्रमण प्याकेज घोषणा




लुम्बिनी ।

कोरोनाले थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका होटल व्यवसायीले सस्तो भ्रमण प्याकेज घोषणा गरेका छन  । एक जनाका लागि २ हजार १ सय ९९ र दुई जनाका लागि ३ हजार १ सय ९९ रुपैयाँमा एक रात र दुई दिनको प्याकेज घोषणा गरिएको छ । असोज १५ गतेदेखि सस्तो प्याकेज लागू हुनेछ ।

पहिलो दिन दिउँसो बसपार्कबाट होटलसम्म पिकअप गरिने र स्वागतपछि साँझ बुद्ध जीवनी झल्कने बुद्धग्राम रोबोटिक थिएटर देखाइनेछ । दोस्रो दिन मायादेवी मन्दिर दर्शन र पूजाआजा र त्यसपछि बेबी बुद्ध, शान्ति द्वीप र आमा क्याफे भ्रमण गराइनेछ । दिउँसो विभिन्न मुलुकका विहार, गुम्बा र चैत्य भ्रमण र न्यु लुम्बिनी भिलेजको भ्रमण समावेश छ । यसपछि होटल आएर पर्यटकलाई बिदाइ गर्ने कार्यक्रम प्याकेजमा समावेश गरिएको छ ।

प्याकेजमा दुई बेड भएको ननएसी कोठा, साँझरबिहान खाना, बिहान ब्रेकफास्ट, धुप बत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट समावेश छ । ‘सस्तोमा धेरै भेराइटी दिन खोजेका छौं,’ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘यसले लुम्बिनी भ्रमण गर्न चाहनेले लाभ लिन सक्छन ।’
लुम्बिनीका अतिरिक्त कपिलवस्तुका बुद्धस्थल भ्रमण गर्न चाहने पर्यटकका लागि एक दिन थपेर दुई जनाका लागि ७ हजार १ सय ९९ रुपैयाँमा दुई रात र तीन दिनको भ्रमण प्याकेज घोषणा गरिएको छ । त्यसमा कपिलवस्तुका तिलौराकोट, निग्रोधारा, गोटिहवा, निग्लिहवा र जगदीशपुर ताल भ्रमण समावेश गरिएको लुम्बिनी होटल संघका महासचिव लिलामणी शर्माले बताए ।

लुम्बिनीबाट पश्चिम नवलपरासीको रामग्राम, रूपन्देहीको देवदह र भारतका बुद्धस्थल कुशीनगर तथा श्रावस्तीसम्म घुम्न चाहने पर्यटकका लागि पनि छुट्टै प्याकेज बनाइएको उनले बताए । अहिलेलाई चैत १५ गतेसम्म प्याकेज घोषणा गरिएको छ । पछि यसलाई सुधार गरेर अझ राम्रो बनाएर अघि बढ्ने पर्यटन उद्यमी हेमबहादुर विष्टले बताए । कोरोना भाइरस संक्रमणको पहिलो लहरमा लुम्बिनीका होटल करिब ८ महिना र दोस्रो लहरमा साढे ३ महिना बन्द थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ५ : ०१ बजे