काठमाण्डौ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरू कुनै हुन नसक्ने बताउनुभएको हो । उहाँले देशमा अरू धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रूपमा सङ्घीयता कार्यान्वयन गर्न बाँकी रहेको बताउनुभयो । उहाँले देशमा छिटो छरितो विकासका कामहरू अघि बढाउन बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नागरिकले भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हाम्रो देशमा अरू धेरै कुराहरू गर्न बाँकी छ, अझै पूर्ण रूपमा सङ्घीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो छरितो विकासका कामहरू अघि बढाउनु छ, यहाँ केही कुरा आएका छन्, जनताको नाम सबैले लिन्छन्, जनता यो हो, जनता ऊ हो भन्छन्, जनताले भोटबाट देखाइहाल्छन् नि, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू कोही हुँदैन, एउटा कुरा सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन । कसैले अरू दुई किसिमको सपना नदेखे हुन्छ, हामी सबै पार्टी प्रजातन्त्रको लागि लडेरै आएका हौँ, त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरू हुन सक्दैन ।’
प्रधानमन्त्री देउवाले नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताउनुभयो । उहाँले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरूलाई भिसा दिएको बताउनुभयो । उहाँले नेपालले पूर्ण रूपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रूपमा नियन्त्रण गर्न सरकार सफल भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आम नागरिकको मौलिक हक भएको बताउनुभयो । उहाँले शैक्षिक व्यवस्थापनमा समयानुकूल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताउनुभयो । उहाँले साक्षरताका लागि निरक्षर र साक्षरको तथ्याङ्क यकिन गरेर त्यसअनुसार थप कार्यक्रम सञ्चालन सरकारले गरिरहेको बताउनुभयो ।













प्रतिक्रिया