६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

घनश्याम, भीम, योगेश, रघुहरुलाई पेले ओलीले, १० बुँदेले एमाले फेरि संकटमा




काठमाण्डौँ ।

१० बुँदे पक्षधर नेताकै जिल्लामा सहमति कार्यान्वयन नभएको भन्दै एमाले स्थायी कमिटी बैठकमा विरोध भएको छ। यसले गर्दा पार्टी फेरि संकटमा परेको नेताहरुले बताउन थालेका छन् ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले १० बुँदे कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका थिए।

सहमति कार्यान्वयनमा पार्टी अध्यक्ष केपी ओलीलेनै बेवास्ता गरेको भन्दै उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलबाट राजीनामाको घोषणा समेत गरेका छन्।

उनले शनिबार राजिनामा बुझाउने समेत स्थायी कमिटी बैठकमा जानकारी गराएका छन्।

१० बुँदे कार्यान्वयनका लागि कार्यदलमा मिहेनत गरेर काम गरे पनि अध्यक्षले अन्य विषयमा ध्यान दिएको तर केन्द्रीय कमिटीले जारी गरेको अन्तर पार्टी निर्माण कार्यान्वयनमा ध्यान नदिएको आरोप लगाएका छन्।

ताप्लेजुङ, सुनसरी,चितवन लगायतका जिल्ला र सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनमा अवरोध आएको भन्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले एकता पक्षधर नेताहरूकै जिल्लामा सहमति कार्यान्वयन नगरिएको बताएका थिए।

ताप्लेजुङ एमाले सचिव योगेश भट्टराइको जिल्ला हो भने सुनसरी अर्का सचिव भीम आचार्यको गृहजिल्ला हो। त्यस्तै चितवन सुरेन्द्र पाण्डेको गृहजिल्ला हो। २०७५ जेठ २ अघि सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल थिए।

उनी नेकपा कालमा समेत इन्चार्ज थिए। तर उनकै गृहप्रदेशको इन्चार्ज लेखराज भट्ट छन्। बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा कायम छन्। २०७५ जेठ २ र नेकपाकालीन समयमा अष्टलक्ष्मी शाक्य इन्चार्ज थिइन्।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ६ : ११ बजे