१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

ओली : सर्वोच्चमा भएको दाउपेचमा हामीलाई पस्नु छैन



विराटनगर ।
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए।

प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने धारण राखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग भइरहेको अवस्थामा ओली राजीनामा नमाग्ने र महाभियोगको माग पनि नउठाउने प्रष्ट पारे।

‘महाअिभयोग, अहिले जुन राजनीति सर्वोच्चको नाममा भइरहेको छ‚ त्यस प्रकारको होइन। हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ भन्ने प्रश्नमा ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन। सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन।’

अर्को एक प्रशंगमा ओलीले सुदूरपश्चिममा वडा सम्मेलन नभएको विषयमा अभिव्यक्ति दिने उपाध्यक्ष भीम रावललाई जवाफ माग्ने समेत बताए। उपाध्यक्ष रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताएका छन्।

सोही विषयमा पत्रकारले सोधेको प्रश्नमा ओलीले ‘एक दुई जनाले के भन्छन् त्यसको कुनै मतलब भएन, उहाँले किन त्यस्तो भन्नुभयो, म सोध्छु।’

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  १२ : २५ बजे