८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

न्यायालयमा विवाद : आज पनि प्रधानन्यायाधीशले ८ ओटा इजलास तोके



काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादबीच आज पनि ८ ओटा इजलास तोकेका छन्। प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको आन्दोलन चर्किरहेको बेलामा इजलास तोकेका हुन्।

पेशी तोकिएको एक सय ६७ मुद्दामध्ये प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा २८ वटा मुद्‍दा राखेका छन्।

बुधबार पनि प्रधानन्यायाधीश एक्लैले मुद्दा हेरेका थिए। उनले बुधबार ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेका थिए।

प्रधानन्यायाधीश मुद्दा सुनुवाइमा लागे पनि अन्य न्यायाधीशहरू भने आन्तरिक छलफलमा व्यस्त रहेका थिए। मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास गरी २ सय १६ मुद्दाको पेसी तोकेका थिए। प्रधानन्यायाधीश जबराले आफूलाई भने कुनै पेसी राखेका थिएनन्।

सोमबार पनि १० वटा इजलास तोकिएको थियो तर प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’को बैठक समेत बहिष्कार गरेर न्यायाधीशहरू आन्दोलित भएपछि प्रभावित बन्न पुगेको थियो।

राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको र न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासीन देखिएको लगायतका माग राखेर १५ न्यायाधीशले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्। लगातार छलफलमा रहेका १५ न्यायाधीशले इजलासमा मुद्दा नहेर्दा न्यायको पर्खाइमा रहेका कैयौं नागरिकले न्याय पाउन सकेका छैनन्।

प्रकाशित मिति : ११ कार्तिक २०७८ बिहिबार ००:००  १२ : ५१ बजे