२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

कपिलवस्तुमा देउसी-भैली खेल्न पाइने, भर्नुपर्ने छ यस्तो प्रहरी फारम !



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

कपिलवस्तुमा यस बर्ष देउसी भैली खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिले बनाएको विविध शर्तसहितको फारम भरेर मात्र जिल्लामा देउसी भैली खेल्न पाइने भएको हो ।

तिहारको बेला हुन सक्ने सम्भावित क्षति र दुर्घटना न्यूनिकरणको लागि सुरक्षा समितिले तोकेको फारम देउसी भैली खेल्ने समुह या संस्थाले भर्नु पर्ने बाध्यकारी नियम बनाएको प्रहरी प्रमुख उपरिक्षक दान बहादुर कार्कीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार विहान ७ बजेदेखि राति ८ बजेसम्मको देउसी–भैली खेल्ने समयसिमा तोकिएको छ ।

उक्त फारम नभरीकन अनुमति विना मनोमानी ढंगले देउसी भैली खेलेको पाइए नियन्त्रणमा लिएर कानुन बमोजिक कारबाही गरिने कार्कीले बताउनु भयो । प्रमुख कार्कीले तिहारको नाममा विनास्विकृति पैसा असुल्ने धन्दालाई पनि निरुत्साहित गर्न र अरु दुर्घटना कम गर्न यस फारमले सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । देउसी–भैली फारम र शर्तको बारेमा स्थानीय सरकारका प्रतिनिधिलाई पनि जानकारी गराइसकिएको सुरक्षा समितिले जनाएको छ ।

फारममा केके भर्नुपर्छ ?

  • देउसी भैली कार्यक्रमको आयोजकको नाम र ठेगाना
  • कार्यक्रम संयोजकको नाम र फोटो
  • सहभागि संख्या (महिला –पुरुष)
  • कार्यक्रम संचालन हुने एरिया र स्थान
  • देउसी–भैली कार्यक्रम सुरु हुने र बन्द हुने मिति
  • सुरु हुने समय (स्पटमा)
  • समाप्त हुने समय

शर्तनामाहरु

  • भैली खेल्ने क्रममा कोरोनाको जोखिमलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने
  • कमभन्दा कम मानिस सहभागि गराउनु पर्ने
  • मदिरा सेवन तथा आतिशबाजी (पटका) प्रयोग गर्न नपाइने
  • स्थानीय प्रशासनले तय गरेको मापदण्ड पुरा गर्नु पर्ने
  • देउसी भैलीमा प्रयोग हुने सवारी बाहेक अरु निजी मोटरसाइकल, कार जिप प्रयोग गर्न नपाइने
  • रंग अविर जथाभावी प्रयोग गर्न नपाइने
  • अर्को ब्यक्तिलाई असर गर्ने गरी साउण्ड सिस्टम र डिजे प्रयोग गर्न नपाइन

सवारी साधन प्रयोग भएको भए

  • सवारी साधनको प्रकार
  • सवारी नम्बर
  • सवारी धनीको नाम र ठेगाना
  • सवारी चालक अनुमति पत्र र सम्पर्क नम्बर

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ५५ बजे