१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भैंसीको मासुले सैनामैनाको एक गाउँ नै आतंकित



काठमाडौं ।
रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो ।

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए ।

असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैंसी ल्याई काटेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पकाएर खाएका थिए ।

वडाध्यक्ष बेल्वासेले भने– ‘भैंसी कुकुरले टोकेर केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छालामात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’

उक्त मासु खानेमा बच्चादेखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो । अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए ।

कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेको घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिजविरुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान्नसम्बन्धी चेतनाको अभाव रहेकाले उक्त समस्या उत्पन्न भएको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  ८ : २१ बजे