१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

एमाले सरकार ढल्दै, राजेन्द्र राई नयाँ मुख्यमन्त्री



काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा टेबुल गराएको विश्वासको मत लिने प्रस्तावमा आज मत विभाजन हुँदैछ ।उक्त प्रस्तावमा मत विभाजन हुनुभन्दा एकदिन अघि विपक्षी गठबन्धनले आचार्यलाई मत नदिने निर्णय गरिसकेको छ ।

आज मध्यान्ह १२:३० बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आचार्यविरुद्ध एकढिक्का भएको विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले प्रदेशस्थित एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय पनि गरेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चको बैठकले उक्त निर्णय गरेको हो । जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले विश्वासको मतविरुद्ध मतदान गर्ने निर्णय गरेको बताए ।

यादवले गठबन्धनलाई आगामी दिनमा अझ मजबुत बनाएर लैजाने र केन्द्रीय सहमति बमोजिम नै एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय भएको बताए ।

यता सत्तारुढ दलका सांसद पनि आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेको स्वीकार्छन् । ‘सकेसम्म हामी सरकार टिकाउन लागिपरेका छौँ,’ एमालेका एक सांसदले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिँदैन ।’

९३ सदस्यीय प्रदेशसभामा एमालेको सभामुखसहित ४१ सिट छ । बहुमतका लागि ४७ मत चाहिन्छ । प्रदेशसभामा कांग्रेसको २१, माआवादी केन्द्रको उपसभामुखसहित १५, एकीकृत समाजवादीको १०, जसपाको तीन, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको एकरएक सिट छ । विपक्षी गठबन्धनसँग ५० सिट छ ।

सत्ता पक्षले राप्रपाको १ मत प्राप्त गर्ने अपेक्षा गरेको छ । आचार्यले टेबुल गराएको विश्वासको मतमा ७ कात्तिकमै मत विभाजन हुने तय थियो । तर, आफ्ना केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो ।

लगत्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन, केन्द्रीय र स्थायी कमिटीको बैठकको कारण देखाउँदै बैठक सार्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले १५ कात्तिकसम्म बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ७ : २८ बजे