३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

बाणगंगाका होटलमा नाला र किचन एकै ठाउँ, सरसफाइको कमी



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजाका विरामी भेटिएको अवस्थामा बाणगंगा नगरपालिकामा संचालित होटल तथा रेष्टुरेन्टहरुमा सरसफाईको कमी देखिएको छ । जिल्लाकै समृद्ध मानिएको नगरमा संचालित होटलको अनुगमन गर्दा सरसफाइको कमी र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटिएको हो ।

२ दिन अघि नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा नगरका बिभिन्न क्षेत्रमा रहेका होटल र रेष्टुरेन्टको अनुगमन भयो । त्यसअन्तर्गत प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको नेतृत्वमा कृषि शाखा प्रमुख लेस बहादुर केसी, पत्रकार चन्द्रकान्त न्यौपाने, नगरका कर्मचारी र सुरक्षाकर्मीको टोली साँझको समयमा वडा नम्बर ११ मा अनुगमनको लागि पुग्यो ।

अकस्मात् गरिएको अनुगमनको क्रममा ओदारी क्षेत्रका होटल र रेष्टुरेन्टमा जनस्वास्थ्यप्रति खेलवाड गरेको पाइएको छ । होटल, रेष्टुरेन्ट, चिया तथा खाजाघरका किचन, त्यहाँ राखिएका खाद्य तथा पेय सामाग्रीको सुक्ष्म अनुगमन गर्दा लापरबाही भेटिएको हो । अधिंकाश होटल र रेष्टुरेन्टमा सरसफाईको कमी देखिएको छ भने कतिपय होटलमा म्याद गुज्रेका मदिरा पनि भेटिएका छन् ।

प्रायजसो होटलहरुले किचन फोहोर राखेका छन् भने केही होटलको त किचन (खाना पकाउने ठाउँ) नै फोहर बग्ने नालासंग जोडिएको पाइएको छ । यस्तो भेटिएपछि टोली संयोजक प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले केही होटल संचालकलाई कडा चेतावनी दिनु भएको छ ।
एक होटल संचालकलाई खनालले भन्नुभयो ‘के हो यो ? छेउमा बाटोमा धुलो उडिरहेको छ । नाला गन्हाइरहेको छ । त्यहीँ झिँगा भन्किरहेका छन् । त्यहीमाथि बसेर खानानास्ता पकाईरहनु भएको छ । यही खुवाउने हो उपभोक्तालाई ? तपाईलाई उपभोक्ता स्वास्थ्यको मतलव छैन ? तुरुन्त सुधार्नु हुन्छ कि शिल गर्दिऊँ ?

खनालले यस्तो भने पछि ती होटल मालिकले तुरुन्त किचन सार्ने र सरसफाई गर्ने बताएका छन् ।यस्तै केही होटलले सडेका खुर्सानी, तरकारी लगायतका पकाउने सामाग्री किचनमा राखेका थिए । तुरुन्त डस्टविनमा फालेर आइन्दा लापरबाही नगर्ने सर्तमा छोडिएको छ ।

ओदारीकै दुई चर्चित होटलबाट मिठाई बनाउने सामग्रीको स्याम्पल जाँचका लागि भैरहवा प्रयोगशाला पठाइएको छ । अनुगमनको क्रममा जाँदा दुधबाट बनेको सो सामाग्री खुल्ला राखिएको थियो । त्यहाँ झिँगा भन्किरहेका थिए । त्यस्तो देखिएपछि मिठाइको स्याम्पल उठाइएको खनालले बताउनु भयो । सो जाँच गर्दा झिँगाका जिवाणु भेटिए कारबाही गरिने उहाँले बताउनु भयो ।

ओदारीका मुन्ना मिष्ठान्न भण्डार, भुसाल होटल एण्ड मिष्ठान्न भण्डार (माथिल्लो) राना होटल एण्ड रेष्टुरेन्ट, भुसाल होटल एण्ड मिष्ठान्न भण्डार(तल्लो), मनकामना मदिरा पसल, चौतारी रेष्टुरेन्ट, गुल्मेली चियानास्ता पसल लगायतको छड्के अनुगमन भएको थियो ।

यिनमा कतिपयमा नविकरण नभएको, नगरमा दर्ता नभएको,मुल्य सुचि टाँस नभएका पनि भेटियो । उनीहरु सबैलाई सरसफाइमा ध्यान दिन, दर्ता र नविकरण हुन अल्टिमेटम दिइएको छ । फेरि अनुगमन गर्दा सोही लापरबाही दोहोरिएको र जनस्वास्थ्यमा खेलवाड गरेको पाइए शिल गर्ने लगायतको कडा कारबाहीमा नगर जाने खनालले चेतावनी दिनुभयो ।होटलको किचन खुला ठाउँमा हुन नहुने भन्दै पकाएर तयारी भएका खाद्य सामाग्री पनि ढाकछोप गरी राख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

ओदारीका केही मिठाइ पसल संचालकले नक्कली ब्यापारीका कारण आफूहरु मर्कामा परेको गुनासो पोखेका छन् । भुसाल होटलका संचालकले शुद्ध दुधबाट बनेका मिठाइहरु आफूले विक्रिवितरण गरेको भए पनि दशैँ तिहारजस्ता चाडमा नक्कली ब्यापारीका कारण समस्यामा परेको बताउनु भयो ।

संचालक कमल भुसालले झोँक्किदै भन्नुभयो ‘ को हो अनुगमन टोली प्रमुख ? अशुद्ध र नक्कली मिठाई बेच्ने ब्यापारीको विगविगीले समस्यामा पर्यौँ । चाडबाडका बेलामा ‘सडकका पीँढीमा स्टल नै राखेर नक्क्ली मिठाई बेच्छन् । यो हेर्ने कसले हो ? न सटर लिन्छन् । न नगरलाई कर तिर्छन् ? यो सुनिसकेपछि नगरको ध्यानाकर्षण भएको भन्दै अझै सरसफाइमा ध्यान दिन खनालले सुझाउनु भयो । पसल ब्यवसाय संचालन गर्दा ब्यापारसंगै उपभोक्ताको स्वास्थ्यमा विशेष ख्याल गर्न उहाको आग्रह छ ।

नगरको अन्य अनुगमनमा बाणगंंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराई, राजश्व फाँट प्रमुख मदन घिमिरे, नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्त लगायत जानु भएको थियो ।

नगरपालिकाका चार नम्बर, पिपरा, बनगाई, वैरिया, बोडगाउँ लगायतका होटलमा पनि सरसफाइको कमी रहेको जनगुनासो आउने गर्दछ भने धेरेका किचन अस्तव्यस्त र फोहर रहेका उपभोक्ता बताउँछन् ।

तुरुन्त यस्ता कुरामा सुधार गर्न नगर उपप्रमुख चक्रपाणी अर्यालले आग्रह गर्नुभयो । चाडपर्वका बेला बढी भीँडभाड हुने भएकाले यस्तो बेला झन् उपभोक्ताको स्वास्थ्यमा विशेष ख्याल गर्नु पर्ने उहाँको भनाई छ । सरसफाइमा ध्यान नदिँदा कृष्णनगरमा झाडापखाला र हैजा देखिएपछि अहिले जिल्लाभरका होटल र रेष्टुरेन्टको बजार अनुगमन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बताउँछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ८ : ३४ बजे