३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

सर्वोच्च आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकियो



काठमाण्डौ ।
सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दाका मात्रै पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई बाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोक्नु भएको हो।

न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र हरि फुँयाल, आनन्दमोहन श्रेष्ठ र टङ्कबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुँडाल, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई भने एकल इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकिएको हो ।

वार्ता टोलीले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न गरेको आग्रह स्वीकार गर्दै आज लागि बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी तोकिएको छैन ।

आज आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि इजलास फर्किने भएका छन् । उनीहरुले विगत एक हप्तादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । आज बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले केही समय काम गर्ने र त्यसपछि छोड्ने प्रस्ताव गर्नुभएको बुझिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  १२ : ४८ बजे