३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

जित्लान् माओवादीबाट एमाले बनेका नेताहरूले चुनाव ?



काठमाण्डौ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो ।

एमालेको केन्द्रीय निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा र अष्टलक्ष्मी शाक्यको नाम ओलीले सर्वसम्मत गर्न प्रस्ताव गरे पनि नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि चुनाव हुने भएको छ । उपाध्यक्षमा पूर्वमाओवादीका तर्फबाट रामबहादुर थापा बादलले पनि चुनावको सामना गर्नुपर्ने भएको छ । एमालेकै दुई खेमा र माओवादीबाट एमालेमा आएका बादलबीच हुने प्रतिस्पर्धालाई निकै महत्त्वका साथ हेरिएको छ ।

यस्तै सचिवमा अध्यक्ष ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रस्ताव गरेपनि टङ्क कार्की र भीम आचार्यले पनि उम्मेदवारी दिएपछि चुनाव हुँदैछ । सचिवमा सात जनाको लागि नौ जनाको उम्मेदवारी परेको छ । सचिवमा पूर्वमाओवादीका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि यत्तिकै सचिव पद नपाउनुहुने देखिएको छ । अध्यक्ष ओलीले सर्वसम्मत गराउन खोजे पनि रायमाझी र भट्टले चुनाव जितेर मात्रै पद पाउने पक्का भएको हो ।

एमालेकै दुई पक्ष र पूर्वमाओवादी नेताहरूबीच हुने प्रतिस्पर्धा निकै रोचक हुने एमालेका नेतारकार्यकर्ताहरू बताउँछन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  २ : ४१ बजे