१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लैङ्गिक हिंसा विरुद्ध खुशी जीवन नाटक प्रदर्शन



बाबुराम रायमाझी, वाणगंगा ।
बढ्दो हिंसा र दुव्र्यवहार विरुद्ध कपिलवस्तुमा खुशी जीवन नाटक प्रदर्शन गरिएको छ । कलाकारहरुले विद्यालय र समाजमा हुने बालहिंसा र दुव्र्यवहारका घटनालाई उजागर गरी त्यसको रोकथाम र नियन्त्रणमा सरोकारवाला जिम्मेवार हुनुपर्ने सन्देश दिएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुले आयोजना गरेको नाटकमा बालविवाह, बालदुव्र्यवहार, लैङ्गिक हिंसा र अपराधजन्य घटना समाजमा व्याप्त रहेकाले यसबारे सचेतना आवश्यक रहेकोे अभियानका संयोजक हरि अधिकारीले बताए ।
अझैपनि कयौं महिला पुरुषबाट हेपिएका र बालिकाहरु दुव्र्यवहारमा परेकाले यसबाट मुक्ति पाउन समाजमा शिक्षा जरुरी रहेको विषय औल्याइएको थियो । घरमा, बाटोघाटोमा, स्कुलमा र साथीभाईबाट बालिकाहरु दूव्र्यवहारमा परेकाले सवै निकाय जिम्मेवार हुनुपर्ने नाटकमा समेटिएको थियो । लैगिंक हिंसा, बाल दुव्र्यवहार, बाल विवाह अन्त्यका लागि अभिभावकले आफनो जिम्मेवारीलाई विर्सन नहुने नाट्य कलाकार पूर्णचन्द्र परियारले अभिनय गरेका थिए ।
छोराछोरीमा कहिल्यै भेदभाव नगरी समान व्यवहार गर्नुपर्ने र सन्तानको रुपमा छोरा नहुँदा एक परिवारमा महिलाले भोग्नुपरेको पीडा नाटकमा श्रीमतिको अभिनयमा गिता भुसालले गरेकी थिइन् । हामी बालिका कुनै कुरामा पनि कमी छैनौं, देश र समाजको लागि हामी केही गर्न सक्छौ भन्ने अभिनय विद्यार्थी कलकार अर्चना आचार्यले गरेकी थिइन् । समाजमा कमजोर र पछाडी पारिएका समुदाय माथी नै बढि थिचोमिचो, अन्याय, बलत्कार, हिंसा र आपराधिक घटना घटिरहेकाले रोकथाममा अभियान नै संचालन गर्नुपर्नेमा जोड दिइएको थियो । विद्यालयमा अपांगता भएका विद्यार्थीलाई धेरै असुविधा हुने गरेको, महिनाबारी हुँदा किशोरीले पढाईमा झेल्नुपरेको समस्या, शिक्षकको अभद्र व्यवहार लगाएतका समस्या समाधान गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, पालिका जिम्मेवार हुनुपर्ने औल्याइएको थियो ।
छोराछोरीलाई समान हक अधिकार पाउनुपर्दछ । आफनो अधिकार लिन छोरीहरु आफै सक्षम हुनुपर्छ र संघर्ष गर्नुपर्ने सन्देश नाटकबाट पाएको विद्यार्थी सविना खातुनले बताइन् । त्यस्तै नाटक आफुलाई राम्रो लागेको प्रतिकृया दिदैं शिक्षिका मनकुमारी थापाले विद्यालय र समाजमा दूव्र्यवहारका घट्ना हुन्छन् त्यसका लागि शिक्षक सचेत हुनुपर्ने बताइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ७ : ०६ बजे